नियम उल्लंघन दोहोर्‍याए लाइसेन्स खारेज, सडकमा अराजकता सहिँदैन: ट्राफिक प्रमुख नवराज अधिकारी

काठमाडौं – सडकमा बढ्दो अराजकता, ट्राफिक नियमप्रति देखिएको बेवास्ता र दुर्घटनाको श्रृंखलाप्रति कडा असन्तुष्टि व्यक्त गर्दै ट्राफिक प्रमुख नवराज अधिकारीले अबको दिनमा कुनै पनि किसिमको लापरबाही सहन नहुने स्पष्ट चेतावनी दिएका छन् । उनले ट्राफिक व्यवस्थापनलाई केवल प्रहरीको जिम्मेवारी ठान्ने सोच त्याग्न आग्रह गर्दै सम्पूर्ण सरोकारवालालाई जिम्मेवार बन्न कडा सन्देश दिएका छन्।

उनका अनुसार, “सडक सुरक्षा ट्राफिक प्रहरीको मात्रै दायित्व होइन। चालक, सहचालक, यातायात व्यवसायी, यात्रु र आम नागरिक सबैले आफ्नो–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा नगरेसम्म दुर्घटना न्यूनीकरण सम्भव छैन।” उनले विशेष रूपमा सवारी चालक तथा सहचालकको व्यवहार, अनुशासन र प्रस्तुति सुधार नगरेसम्म अवस्था नबदलिने स्पष्ट पारे।

प्रमुख अधिकारीले चेतावनीपूर्ण शैलीमा भने, “अब पटक–पटक लापरबाही गर्नेहरूलाई कुनै बहाना चल्दैन। नियम उल्लंघन दोहोर्‍याउने चालकको लाइसेन्स खारेजसम्मको कारबाही गरिन्छ।” उनले थपे, “कानुन सबैका लागि समान हो कोही पनि कानुनभन्दा माथि छैन।”

उनले नागरिकको दोहोरो व्यवहारप्रति पनि कडा टिप्पणी गरे। “हामी धेरै कुरा गर्छौं, गुनासो गर्छौं, तर ट्राफिक नियम पालना गर्न तयार हुँदैनौं। यो प्रवृत्ति तुरुन्त सुधारिनुपर्छ,” उनले भने।

यातायात क्षेत्रमा देखिएको अव्यवस्थित र असभ्य व्यवहारप्रति उनले गम्भीर चिन्ता व्यक्त गरे। विशेषगरी ‘झोला तान्ने’, यात्रु तान्ने, चिच्याउने, जबर्जस्ती सवारी चढाउने जस्ता गतिविधि तत्काल बन्द गर्नुपर्नेमा उनले जोड दिए। “यो शैली अब चल्दैन। यस्तो अराजकता सहन गरिने छैन,” उनले स्पष्ट पारे।

Forbes

ट्राफिक कारबाहीलाई लिएर हुने आलोचनाप्रति जवाफ दिँदै उनले कडा रूपमा भने, “चिट काट्नु हाम्रो रहर होइन। नियम उल्लंघन नगर्नुहोस्—चिट आफैं हट्छ। नियम मिचेर अनि कारबाही हुँदा विरोध गर्नु स्वीकार्य हुँदैन।” उनले यातायात व्यवसायीलाई लक्षित गर्दै ‘ट्यापे–मुन्द्रे’ शैली त्याग्न आग्रह गरे। “सेवा दिने क्षेत्रमा सभ्यता अनिवार्य छ। अब सवारी चालक र सहचालकले सभ्य पोशाक, मर्यादित भाषा र अनुशासित व्यवहार अपनाउनै पर्छ,” उनले भने।

सडक सुरक्षाको दीर्घकालीन लक्ष्यबारे बोल्दै उनले स्पष्ट पारे, “हाम्रो उद्देश्य कारबाही मात्र होइन, जनताको जीवन रक्षा हो। बिहान घरबाट निस्किएको व्यक्ति बेलुका सुरक्षित घर फर्किनुपर्छ—यो आधारभूत अधिकार हो।”
उनले थपे, “सडकमा हुने प्रत्येक दुर्घटनाको पछाडि कसैको लापरबाही हुन्छ। यदि सबैले नियम पालना गर्ने हो भने धेरै दुर्घटना रोकिन सक्छन्।”

यातायात व्यवसायीका कमजोरीबारे उनले झनै कडा अभिव्यक्ति दिए। “कमजोरीलाई लुकाउने होइन, सुधार गर्ने समय आएको छ। कमी–कमजोरीलाई सामान्य ठानेर अघि बढ्ने प्रवृत्ति अब अन्त्य हुनुपर्छ,” उनले भने।
उनले स्पष्ट चेतावनी दिँदै भने, “अबको दिनमा नियम उल्लंघन गर्ने, अटेरी गर्ने, अनुशासन नमान्ने जो–कोहीलाई कडा कारबाही हुन्छ। कुनै पनि हालतमा कानुन कार्यान्वयनमा सम्झौता गरिँदैन।”

ट्राफिक प्रमुखको यो कडा अभिव्यक्तिसँगै अब सडकमा कडाइ अझै बढ्ने संकेत देखिएको छ। सम्बन्धित सबै पक्ष जिम्मेवार नभएसम्म दुर्घटना न्यूनीकरण चुनौतीपूर्ण रहने उनको निष्कर्ष छ। अन्त्यमा उनले सबैलाई एकजुट हुन आह्वान गर्दै भने, “सुरक्षित सडक बनाउने जिम्मेवारी साझा हो। नियम पालना गरौं, जीवन बचाऔं।”

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु