काठमाण्डौ – बलिउड अभिनेता रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर : द रिभेन्ज’ले रिलिज भएको दिनदेखि नै कमाइमा नयाँ रेकर्ड बनाउँदै आएको छ । बलिउडको इतिहासमै सबैभन्दा ठूलो ओपनिङ गरेको यो फिल्मले पहिलो सातामा सर्वाधिक कमाउने हिन्दी फिल्मको कीर्तिमान बनाएको थियो । दोस्रो सातामा आइपुग्दा फिल्मले बलिउडको नाममा रहेको सबै रेकर्ड तोडेको छ ।
यो फिल्मले दोस्रो सोमबारसम्म भारतमा मात्रै ८७२ करोड नेट (१ हजार करोड ग्रस) कमाएको छ । योसँगै ‘धुरन्धर २’ भारतमा सबैभन्दा धेरै कमाउने बलिउड फिल्म बनेको छ । यसअघि बलिउडको सर्वाधिक कमाउने फिल्म ‘धुरन्धर’को पहिलो भाग थियो, जसले ८४० करोड नेट कमाएको थियो । अब यो दोस्रो स्थानमा झरेको छ भने तेस्रो स्थानमा ‘जवान’ (६४० करोड) रहेको छ ।
‘धुरन्धर २’ विश्वव्यापी सर्वाधिक कमाउने तेस्रो बलिउड फिल्म समेत बनिसकेको छ । यसले १२ दिनमा १३९२ करोड कमाएको छ । यसमा ओभरसिजको योगदान ३५० करोड छ । अब यो फिल्मले आफ्नै अघिल्लो भागको १४२८ करोड र ‘दंगल’को २०७० करोडको आँकडालाई उछिनेको खण्डमा विश्वव्यापी सर्वाधिक कमाउने बलिउड फिल्मको इतिहास रच्नेछ ।
‘धुरन्धर २’ बलिउडको सर्वाधिक कमाउने फिल्म बन्दै गर्दा यसले साउथमा पनि रेकर्ड बनाउने सम्भावना देखिएको छ । हालसम्म सबैभन्दा ठूलो नन-साउथ फिल्मको रेकर्ड हलिउडको ‘अवतार २’को नाममा छ, जसले साउथका चार राज्यबाट २९७ करोड भारु कमाएको थियो । यो रेकर्ड पछ्याइरहेको ‘धुरन्धर २’ले अहिलेसम्म साउथमा २२६ करोडभन्दा बढी कमाइसकेको छ ।
बदला र ग्याङवारको कथामा आधारित यस फिल्ममा रणवीरसहित अर्जुन रामपाल, सञ्जय दत्त, आर माधवन लगायतको मुख्य भूमिका रहेको छ । फिल्मलाई आदित्य धरले लेखन, निर्देशन तथा निर्माण गरेका हुन् । यो फिल्मको रनटाइम ३ घण्टा ४९ मिनेट रहेको छ, जसले यसलाई २१औँ शताब्दीको दोस्रो सबैभन्दा लामो बलिउड फिल्म बनाएको छ ।


