भरतपुर – नेपाल पत्रकार महासंघ को ७१औं स्थापना दिवसको अवसरमा महासंघको चितवन शाखाले वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ।
सोमबार चैत १६ गते बिहान ७ बजेदेखि सुरु भएको उक्त कार्यक्रम महासंघको कार्यालय प्राङ्गणमा सञ्चालन भइरहेको छ। कार्यक्रमको शुभारम्भ अग्रज पत्रकार नवराज ढकाल ले पहिलो पिन ब्लड दिएर गरेका हुन्।
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुली को अध्यक्षतामा सम्पन्न कार्यक्रममा डाक्टर, प्रहरी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ।
रगत अभावको अवस्थालाई मध्यनजर गर्दै मानवीय कार्यमा हातेमालो गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा ब्लड डोनर्स सोसाइटी नेपालले प्राविधिक सहयोग गरेको छ ।


