झुसिल्किरोको आतंकले गोरखाको विद्यालय प्रभावित, बालबालिका स्वास्थ्य जोखिममा

एटुजेड समाचार

काठमाडौं — बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयमा झुसिल्किरोको प्रकोपका कारण पठनपाठन प्रभावित भएको छ। कक्षाभरि झुसिल्किरो फैलिँदा शिक्षक र विद्यार्थी दुवै शारीरिक रूपमा समस्यामा परेका छन्।

विद्यालय वरिपरि रहेको उतिसको जंगलबाट आएका झुसिल्किरोहरू विगत एक महिनादेखि कक्षाकोठाभित्रै पस्न थालेपछि समस्या जटिल बनेको हो। सुक्खा मौसम सुरु भएसँगै झुसिल्किरोको सङ्ख्या बढ्दै गएको शिक्षकहरू बताउँछन्।
विद्यालयकी शिक्षिका पवित्रा तामाङका अनुसार कक्षाको भुइँ, डेस्क, बेञ्चदेखि छानो र भित्तासम्म झुसिल्किरोले ढाकिएको छ। “सानो समस्या जस्तो देखिए पनि वास्तविक अवस्था निकै गम्भीर छ,” उनले भनिन्।

माघको अन्तिम सातादेखि सुरु भएको यो समस्याले शिक्षक र विद्यार्थीको दैनिक जीवन नै प्रभावित भएको छ। झुसिल्किरोको रौँ (झुस) ले शरीरमा एलर्जी गराउँदै जीउभरि डाबर उठ्ने समस्या देखिएको छ। अधिकांशले एलर्जी नियन्त्रणका औषधि प्रयोग गर्न बाध्य भएका छन्।

विशेषगरी साना कक्षाका बालबालिकालाई बढी असर परेको छ। कक्षा १ देखि ३ सम्मका विद्यार्थी बस्ने कार्पेटसमेत झुसिल्किरोले ढाकेपछि हटाइएको छ भने उनीहरूलाई अस्थायी रूपमा पुस्तकालयमा सारिएको छ।

हावाहुरी चल्दा झुस उडेर आँखामा पर्न सक्ने जोखिमसमेत रहेको शिक्षिका तामाङले बताइन्। समस्या समाधानका लागि गाउँपालिका र शिक्षा शाखामा गुनासो गरे पनि विषादी प्रयोग नगर्न सुझाव दिइएको र प्रभावकारी समाधान नआएको उनको गुनासो छ।

Forbes

यस विषयमा वडाध्यक्ष बलबहादुर गुरुङले पनि समस्या स्वीकार गरेका छन्। उनका अनुसार समाधानका लागि केही रुख काट्दा उल्टै झुसिल्किरो विद्यालयतर्फ अझ बढी आउन थालेको छ।
“समस्या घटाउने प्रयास गर्दा झन बढेको छ,” उनले भने, “विषादी प्रयोग गर्न नपाइने भएपछि अन्य विकल्प खोजिरहेका छौँ।”

हालै केही दिन वर्षा भएकाले झुस उड्ने समस्या केही कम भए पनि विद्यालयमा झुसिल्किरोको उपस्थितिले अझै राहत नपाएको शिक्षकहरूले बताएका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु