काठमाडौं – बलिउड अभिनेत्री सन्नी लियोनी यतिबेला नेपाल भ्रमणमा रहेकी छन्। यसअघि विभिन्न कार्यक्रमका लागि नेपाल आइसकेकी उनी यसपटक भने आफ्ना पति डेनियल वेबरसँगै घुम्न आएकी हुन्।
बुधबार दिउँसो सन्नी–डेनियल जोडी भक्तपुरको प्रसिद्ध पर्यटकीय गन्तव्य नगरकोट पुगेका थिए । उनीहरूले नगरकोट भ्यु-टावरबाट काठमाडौं उपत्यका तथा आकर्षक हिमश्रृंखलाको दृश्य अवलोकन गरेका थिए। प्राकृतिक सौन्दर्यले प्रभावित बनेको जोडीले सामाजिक सञ्जालमार्फत आफ्ना अनुभव पनि सार्वजनिक गरेका छन्।
डेनियल वेबरले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा नेपालको हिमालय र यहाँको प्राकृतिक सौन्दर्यले आफूहरूलाई निकै प्रभावित बनाएको उल्लेख गरेका छन्। त्यस्तै, सन्नी लियोनीले पनि “यस्तो अद्भुत सौन्दर्य अन्यत्र देख्न पाएको छैन” भन्दै नगरकोटप्रति आफ्नो आकर्षण व्यक्त गरेकी छन्।
सन्नी लियोनी यसअघि पनि विभिन्न अवसरमा नेपाल आइसकेकी छन् । क्यासिनो उद्घाटन, ब्रान्ड इन्डोर्समेन्ट तथा फिल्म प्रिमियरजस्ता कार्यक्रमका लागि उनी पटक–पटक काठमाडौं आउने गरेकी छन् ।
हाल सन्नी एमटिभीको लोकप्रिय रियालिटी शो “ष्प्रिटभिल्ला” मा व्यस्त छिन्। उनको पछिल्लो फिल्म Kennedy पनि हालै प्रदर्शनमा आएको थियो।
सन् २०११ मा विवाह बन्धनमा बाँधिएको सन्नी–डेनियल जोडी बलिउडका चर्चित र प्रभावशाली जोडीमध्ये एकका रूपमा चिनिन्छ।


