नेपालको आकाशमा देखिएको रहस्यमय उज्यालो : मिसाइल वा एलियन होइन, रकेटको ग्यासको चमक
काठमाडौं — आइतबार साँझ नेपालको विभिन्न स्थानबाट आकाशमा अनौठो उज्यालो र धुवाँजस्तो देखिने लहर देखिएपछि सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी सुरु भयो। धेरैले उक्त दृश्यलाई मिसाइल, एलियनको जहाज वा विदेशी आक्रमणसँग जोडेर पोस्ट गर्न थाले। केही प्रयोगकर्ताले त “इरानले प्रहार गरेको मिसाइल नेपालमाथि आएको” भन्ने दाबीसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरे।
रातको समयमा आकाशमा देखिएको उक्त उज्यालोले धेरैलाई उत्सुक र केहीलाई चिन्तित बनाएको थियो। फेसबुकलगायत सामाजिक सञ्जालमा “यो के हो?” भन्ने प्रश्नसहितका पोस्टहरूले केही समयमै व्यापक ध्यान पाएका थिए।
तर खगोलविद्हरूले भने उक्त दृश्यको वैज्ञानिक कारण स्पष्ट पारेका छन्।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (NASO) का अनुसार, चीनबाट प्रक्षेपण गरिएको एउटा रकेट करिब २०० देखि ४०० किलोमिटर उचाइमा पुग्दा त्यसबाट निस्किएको ग्यास सूर्यको प्रकाशमा चम्किँदा यस्तो दृश्य देखिएको हो। यसलाई “ट्वाइलाइट रकेट प्लुम (Twilight Rocket Plume)” भनिन्छ।
यो घटना प्रायः सूर्य अस्ताइसकेपछि वा अस्ताउने समयमा देखिने गर्छ, जब पृथ्वीको सतह अँध्यारो भए पनि उच्च वायुमण्डलमा रहेका ग्यासहरू अझै सूर्यको प्रकाशले चम्किरहेका हुन्छन्।


