आधुनिकताको छायाँमा राना थारु समुदायको होली

एटुजेड समाचार

कञ्चनपुर – राना थारु समुदायमा मनाइने होली पर्व केवल रङको उत्सव नभई धार्मिक आस्था, सामाजिक एकता र परम्परागत अभ्याससँग जोडिएको सांस्कृतिक पर्वका रूपमा परिचित छ । तर पछिल्ला वर्षमा आधुनिक प्रभाव र देखासिकी प्रवृत्तिका कारण यसको मौलिकता हराउँदै गएको सरोकारवालाले बताएका छन् ।

शुक्लाफाँटा नगरपालिका–६, कसरौलका स्थानीयका अनुसार राना थारु समुदायमा माघ शुक्ल पूर्णिमादेखि नै होलीको सुरुआत हुने परम्परा छ । गाउँको दक्षिण–पूर्व दिशामा प्रतीक स्थापना गरी एक महिनासम्म ‘जिउँदो होली’ खेल्ने चलन रहेको छ । यस अवधिमा धार्मिक कथा र सामाजिक सन्देश बोकेका गीत गाइन्छन् । गीतको नेतृत्व गर्ने महिलालाई ‘मोढी’, पछ्याएर गाउनेलाई ‘पिछडिया’ र ढोलक बजाउनेलाई ‘ढोलिया’ भनिन्छ ।
फागुन शुक्ल पूर्णिमाका दिन होलिका दहन गरिन्छ र भोलिपल्ट मात्र खरानीको टीका लगाइन्छ । त्यसपछि सात दिन ‘मरेकी होली’ खेलिने तथा आठौँ दिन ‘खखडेहरा’ विधि सम्पन्न गर्ने परम्परा छ । यस क्रममा माटोका प्रतिमा फोडेर दुष्टआत्माबाट गाउँलाई जोगाउने विश्वास गरिन्छ ।

समुदायमा होलीसँग मौलिक पहिरन र गहनाको पनि गहिरो सम्बन्ध रहेको छ । परम्परागत घँघरिया, अँगिया, फतुई, उढनियालगायत पहिरन तथा चाँदीका गहनाको प्रयोग पहिले सम्मानको प्रतीक मानिन्थ्यो । तर अहिले बजारमा पाइने आधुनिक पहिरन र गहनाले परम्परागत शैलीलाई विस्थापित गर्दै लगेका छन् ।

स्थानीय अगुवाले समुदायको सांस्कृतिक पहिचान जोगाउन परम्परागत होली र पहिरन संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् । रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु