को हुन् चितवन ३ का उम्मेदवार दिपक थापा मगर ?

एटुजेड समाचार

चितवन –  चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका दिपक थापा मगर यतिबेला जिल्लाको राजनीतिक बहसको केन्द्रमा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा तथा सक्रिय नेताका रूपमा परिचित थापा मगर विगत करिब २८ वर्षदेखि निरन्तर राजनीतिक यात्रामा संलग्न रहँदै आएका छन्। राप्रपाको राजनीतिक विचारधारा राष्ट्रियता, प्रजातन्त्र, उदारवाद निति तथा संवैधानिक राजतन्त्र र हिन्दु धर्मको संरक्षणमा उहाँले सधै आवाज उठाउदै आईरहनु भएको छ ।

पार्टीभित्र इमान्दार, निष्ठावान र संघर्षशील नेताका रूपमा चिनिएका उनी पुस्तान्तरणको सेतुका रूपमा समेत हेरिएका छन्। उमेरले युवा भएपनि अनुभवले परिपक्व भएका थापा नेपालको बहुदलीय प्रजातान्त्रिक अभ्यासमा सक्रिय भूमिका खेल्दै आएका छन् । देशको समसामयिक राजनीतिक बहसमा पनि थापाले महत्वपूर्ण स्थान राखेका छन्।

राजनीतिक पृष्ठभूमिसहितको परिवार

वि.सं. २०३५ सालमा भरतपुर महानगरपालिका–२७ (साविक मेघौली–९, धरमपुर) मा जन्मिएका थापा मगर सामाजिक–राजनीतिक चेतनाले भरिएको परिवारमा हुर्किएका हुन्। उनका हजुरबुवा स्वर्गीय दल सिंह थापा मगर राप्रपाका संस्थापक नेतामध्ये एक तथा पञ्चायतकालमा तीन कार्यकाल प्रधानपञ्च रहेका थिए। त्यस्तै उनका बुवा स्वर्गीय तिलक बहादुर थापा मगर राप्रपा चितवन क्षेत्र नम्बर ५ का तत्कालीन अध्यक्ष थिए।

घरमै राजनीतिक छलफल, संगठन निर्माण र पार्टी गतिविधि चलिरहने वातावरणले थापा मगरलाई बाल्यकालदेखि नै राजनीतिप्रति आकर्षित गर्‍यो। हजुरबुवा र बुवाले बोकेको राप्रपाको ‘हलो’ चुनाव चिन्हसहितको झण्डा उनका लागि केवल प्रतीक मात्र नभई राजनीतिक प्रतिबद्धताको आधार बनेको उनी बताउँछन्।

Forbes

शिक्षा र व्यक्तिगत जीवन

थापाले प्रारम्भिक शिक्षा जानकी माध्यमिक विद्यालय, मेघौलीबाट हासिल गरेका थिए। कक्षा एक देखि ९ सम्म उनले त्यहि अध्यन गरेका हुन् । कक्षा १० भने चितवन मावि, भरतपुरबाट पूरा गरे। त्यसपछि उच्च शिक्षाका लागि नारायणगढस्थित बालकुमारी कलेजमा भर्ना भई स्नातक तहसम्म अध्ययन गरेका हुन्। विद्यार्थी जीवनमा अनुशासित, मिलनसार र सहयोगी स्वभावका रूपमा चिनिएका थापा मगर सामाजिक गतिविधिमा पनि सक्रिय रहन्थे।

वि.सं. २०६९ सालमा नितु थापासँग वैवाहिक जीवनमा बाँधिएका उनका दुई छोराहरू छन्। पारिवारिक जीवन र राजनीतिक जिम्मेवारीलाई सन्तुलित रूपमा अघि बढाइरहेका थापा मगरलाई स्थानीय स्तरमा सरल र सहज स्वभावका नेताका रूपमा लिइन्छ।

२०५३ देखि सक्रिय राजनीति

वि.सं. २०५३ सालबाट औपचारिक रूपमा राजनीतिक यात्रा सुरु गरेका थापा मगरले २०६२/६३ को जनआन्दोलनदेखि हालसम्मका राजनीतिक उतारचढाव नजिकबाट अनुभव गरेका छन्। राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछिको संक्रमणकालीन राजनीति उनले सक्रिय रूपमा भोगेका छन्।

राप्रपाभित्र उनले विभिन्न जिम्मेवारी सम्हालेका छन्। युवक संगठनका तत्कालीन गाविस अध्यक्षबाट सुरु भएको उनको संगठनात्मक यात्रा क्षेत्र नम्बर ५ का युवा अध्यक्ष, मेघौली गाविस सचिव, क्षेत्रीय सदस्य, महाधिवेशन प्रतिनिधि, नारायणी नगर अध्यक्ष हुँदै भरतपुर महानगर अध्यक्षसम्म पुगेको छ। भरतपुर महानगर अध्यक्षका रूपमा उनले दुई कार्यकाल नेतृत्व गरेका छन्।

संगठन र सामाजिक क्षेत्रमा सक्रियता

राजनीतिक भूमिकासँगै थापा मगर विभिन्न सामाजिक संघ–संस्थामा पनि सक्रिय रहँदै आएका छन्। सामुदायिक विद्यालयको सुदृढीकरण, रेडक्रस, मध्यवर्ती क्षेत्रका गतिविधि, सामुदायिक वन संरक्षण, मठ–मन्दिर व्यवस्थापन तथा आदिवासी जनजाति मगर समुदायका कार्यक्रमहरूमा उनले योगदान पुर्‍याएका छन्। स्थानीय विकास र सामाजिक सद्भावलाई जोड दिने नेताका रूपमा उनी चिनिन्छन्।

थापा मगरले पार्टीका केन्द्रीय स्तरका नेताहरूसँग नजिक रहेर काम गर्ने अवसर पाएका छन्। थापा मगर विशेषगरी राप्रपाका बरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेलाई आफ्नो राजनीतिक प्रेरणाका रूपमा लिन्छन्। पाण्डेसँगको सहकार्यले आफूलाई संगठनात्मक रूपमा परिपक्व बनाएको उनले विभिन्न कार्यक्रममा उल्लेख गर्दै आएका छन्।

विचारधारा र राजनीतिक अडान

राप्रपाको मूल विचारधारा—राष्ट्रियता, प्रजातन्त्र, उदारवादी नीति, संवैधानिक राजतन्त्र र हिन्दु धर्म संरक्षण—प्रति थापा मगर स्पष्ट रूपमा प्रतिबद्ध देखिन्छन्। उनले सार्वजनिक मञ्चहरूमा राष्ट्रिय एकता, सांस्कृतिक पहिचान र स्थायित्वका विषयमा धारणा राख्दै आएका छन्। उमेरले युवा भए पनि लामो राजनीतिक अनुभवका कारण उनी परिपक्व नेताका रूपमा प्रस्तुत हुने गर्छन्।

हालै भदौ २३ र २४ गते सम्पन्न जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक बहसका सन्दर्भमा पनि उनले युवाहरूको भावना प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पदका लागि मात्र नभई युवाको आवाज र अपेक्षालाई संस्थागत गर्न आफू अघि बढेको उनको दाबी छ।

चितवन–३ मा चुनावी प्रतिस्पर्धा

चितवन–३ विविध सामाजिक संरचना र राजनीतिक प्रभावको हिसाबले महत्त्वपूर्ण क्षेत्र मानिन्छ। यस्तो क्षेत्रमा राप्रपाले पुस्तान्तरण र संगठनात्मक निरन्तरताको सन्देशसहित थापा मगरलाई उम्मेदवार बनाएको छ । पार्टीभित्रको लामो योगदान, पारिवारिक राजनीतिक विरासत र स्थानीय स्तरको पहिचान उनको मुख्य आधारका रूपमा प्रस्तुत गरिएको छ।

उनका समर्थकहरू अनुभव, इमान्दारिता र सेवा भावका कारण उनी उपयुक्त उम्मेदवार भएको दाबी गर्छन्। आलोचकहरू भने संघीय गणतान्त्रिक व्यवस्थामा राप्रपाको एजेन्डा कत्तिको प्रभावकारी हुन्छ भन्ने प्रश्न उठाउँछन्। तथापि, थापा मगर आफूलाई बहस र प्रतिस्पर्धाका लागि तयार रहेको बताउँदै आएका छन्।

करिब तीन दशक लामो राजनीतिक यात्रासहित मैदानमा उत्रिएका दिपक थापा मगरका लागि चितवन–३ को चुनाव केवल व्यक्तिगत प्रतिस्पर्धा मात्र नभई, पुस्तान्तरण, विचारधारा र संगठनात्मक निरन्तरताको परीक्षा पनि बनेको छ। आगामी निर्वाचन परिणामले उनको राजनीतिक यात्रालाई नयाँ मोड दिनेछ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु