चितवन – तेस्रो भरतपुर मेयर कप फुटबलको उपाधि वाल्मीकि शिक्षा सदनले जितेको छ । भरतपुरको कृष्णपुर मैदानमा भएको फाइनलमा दुर्गा शेषकान्त माविलाई ४-० ले हराउँदै वाल्मीकिले लगातर दोस्रो पटक उपाधि रक्षा गरेको हो ।
वाल्मीकिको जितमा अमृत आचार्य र आदित्य लामिछानेले २-२ गोल गरे । वाल्मीकिका अमृत आचार्य प्रतियोगिताभरको उत्कृष्ट खेलाडी चुनिए । यस्तै १० गोल गरेका दुर्गा शेषकान्तका यमलाल आले उत्कृष्ट फर्वाड, दुर्गा शेषकान्तकै सजन कार्की उत्कृष्ट मिडफिल्डर, वाल्मीकिका सन्देश कँडेल उत्कृष्ट डिफेन्डर तथा अन्नपूर्ण माविका समिर गुरुङ उत्कृष्ट गोलकिपर घोषित भए ।
यस्तै वाल्मीकिका धुर्व भुसाल उत्कृष्ट प्रशिक्षक चुनिए । यससँगै वाल्मीकिले लगातार दोस्रो सिजन भरतपुर मेयर कपको उपाधि जितेको छ । गत संस्करण पनि वाल्मीकि नै च्याम्पियन बनेको थियो । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा भएको प्रतियोगितामा ७४ स्कुल सहभागी थिए ।


