भरतपुर – भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीले अभिभावकीय भूमिका बहन गर्दै चितवन र नवलपुरका ५२ वटा पूर्वप्राथमिक विद्यालय (प्रिस्कुल)का ११० जना शिक्षक÷शिक्षिकाहरूलाई प्रारम्भिक बाल विकास तथा मोन्टेश्वरी तालिम प्रदान गरेको छ । विद्यालयले ‘जीवनभरको सिकाइका लागि बलियो आधार निर्माणका लागि गुणस्तरीय प्रारम्भिक बाल शिक्षा’ विषयक एकदिने तालिम दिइएको हो ।
पूर्वप्राथमिक विद्यालयका शिक्षकहरूलाई बालकेन्द्रित शिक्षण विधि बुझ्न, व्यवस्थित वातावरण निर्माण गर्न सक्षम बनाउन, मोन्टेसरी सामग्रीको प्रभावकारी प्रयोग गर्न, बालअवलोकन र मूल्याङ्कन सीप विकास गर्न तथा बालबालिकाको सामाजिक तथा भावनात्मक विकासमा सहयोग गर्न सक्षम बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । पूर्वप्राथमिक विद्यालयकेन्द्रित कार्यक्रममा पाँचवटा माध्यमिक विद्यालयको पूर्वप्राथमिक तहमा अध्यापनरत शिक्षक सहभागी थिए ।
सिकाइ फाउन्डेशनकी अध्यक्ष, काठमाडौँ युनिभर्सिटी स्कुल अफ एजुकेसनकी लेक्चरर तथा चाइल्डहुड एजुकेसन इन्टरनेसन, वासिङटन डिसीसँग आबद्ध प्रशिक्षक मीनाक्षी दाहाल, पिएचडी मुख्य प्रशिक्षक रहेको तालिममा विभिन्न प्रयोगात्मक विधिको प्रयोग गरी प्रशिक्षण प्रदान गरिएको थियो ।
प्रशिक्षक दाहालले ‘सुरक्षित–सुखद र बालकेन्द्रित सिकाइ निर्माण’, ‘बालबालिकाको सामाजिक–भावनात्मक र संज्ञानात्मक विकासमा सहयोग’, ‘समावेशी अभ्यासः विविधखाले सिकारुहरूलाई सहयोग’ र ‘सिकाइलाई देखिने बनाउन बालबालिकाको सिकाइको मूल्याङ्कन’ विषयमा प्रशिक्षण दिएकी थिइन् ।
बालबालिकाको शैक्षिक, सामाजिक, भावनात्मक र शारीरिक तथा समग्र विकासमा जोड दिँदै बाल्यकाल नै विकासको सबैभन्दा महत्वपूर्ण चरण भएकाले यस अवधिमा उचित मार्गदर्शनको अपरिहार्यतालाई मनन गरी बालबालिकालाई भविष्यको असल नागरिक बनाउन आवश्यक शिक्षण प्रणालीका बारेमा तालिममा छलफल गरिएको विद्यालयकी निर्देशक सरला पौडेलले जानकारी दिइन् ।
विद्यालयका आवासीय निर्देशक नईम चौधरीले स्वागत तथा कार्यक्रमको लक्ष्यमाथि प्रकाश पार्दै सहभागीहरुलाई ऊर्जा प्रदान र सामूहिकताको महत्वबारे जानकारी गराएको कार्यक्रममा धन्यवाद मन्तव्य शिक्षिका प्रमिला खातीले गरेकी थिइन् । कार्यक्रममा विद्यालयका प्राचार्य सुमन पौडेलले विद्यालयको विगत, वर्तमान र भविष्यका योजनाबारे बोलेका थिए ।


