चितवनमा डाक्टर साथी प्याथोलोजीको आजदेखि एक सातासम्म निःशुल्क स्वास्थ्य शिविर

चितवन – डाक्टर साथी प्याथोलोजी एण्ड हेल्थ होम केयर सर्भिसेसले आजदेखि एक साता निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । हेल्थ होम केयरले (आज)फागुन १ गतेबाट फागुन ७ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

प्रगति पोलिक्लिनिकको सहयोगमा ‘स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो, समयमा नै जाँच गरौं, स्वस्थ रहौं’ भन्ने मूल नाराका साथ हेल्थ होम केयर र भरतपुर १० अस्पताल रोडस्थित सहकारी तालिम केन्द्र अगाडिमा स्वास्थ्य शिविर आयोजना गरिएको छ । जहाँ हरेक दिन बिहान ७ बजेदेखि निःशुल्क सुगर तथा प्रेसर जाँचका साथै विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य परामर्श सेवा लिन सकिने क्लिनिकले जनाएको छ ।

शिविरमा निःशुल्क सुगर (ब्लड सुगर) तथा रक्तचाप (प्रेसर) जाँचका साथै विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य परामर्श सेवा उपलब्ध गराइनेछ। यसका अतिरिक्त सम्पूर्ण ल्याब जाँचमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। साथै सम्पूर्ण स्वास्थ्य सेवा घरमै उपलब्ध गराउने व्यवस्था समेत मिलाइएको हेल्थ होम केयरका प्रवन्ध निर्देशक प्रनय कुमार बिकले बताए । बिरामीको आवश्यकता क्षमतालाइ मध्यनजर गर्दै बिगत ५ वर्षदेखि आफुहरुले सेवा दिन सुरु गरेको उनको भनाइ थियो ।

हालको व्यस्त जीवनशैली, अस्वस्थ खानपान तथा बढ्दो मानसिक तनावका कारण मधुमेह, उच्च रक्तचाप र थाइराइडजस्ता रोगहरू तीव्र रूपमा वृद्धि भइरहेका बेला समुदायलाई लक्षित गर्दै समयमै जाँच तथा विशेषज्ञ परामर्श उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको जनाइएको छ। प्रारम्भिक चरणमै रोग पहिचान गर्न सकेमा दीर्घकालीन जटिलता न्यूनीकरण गर्न सकिने विश्वास आयोजकको छ।

स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्‍याउने लक्ष्यसहित सञ्चालन हुन लागेको उक्त शिविरबाट भरतपुर तथा आसपास क्षेत्रका नागरिकहरूले प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ। आयोजकले सम्पूर्ण सर्वसाधारणलाई शिविरमा सहभागी भई आफ्नो तथा परिवारको स्वास्थ्य जाँच गराई लाभ लिन आग्रह गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु