राष्ट्रियस्तरीय ‘युनाइटेड टेक फ्युजन २०८२’ सम्पन्न, दुई हजारभन्दा बढीले गरे अवलोकन

एटुजेड समाचार

चितवन – राष्ट्रियस्तरीय प्राविधिक कार्यक्रम ‘युनाइटेड टेक फ्युजन २०८२’ चितवनमा सफलतापूर्वक सम्पन्न भएको छ। माघ १२ र १३ गते आयोजना गरिएको उक्त कार्यक्रम युनाइटेड टेक क्लबको आयोजना तथा युनाइटेड टेक्निकल कलेजको सहकार्यमा सम्पन्न भएको हो।

कार्यक्रममा सिभिल, कम्प्युटर, सूचना प्रविधि (आईटी), विद्युत तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ लगायतका विभिन्न क्षेत्रका १५ वटा प्रोजेक्टहरू प्रदर्शनीमा राखिएका थिए भने १५ वटा रोबो टिमहरूबीच रोमाञ्चक रोबो रेस प्रतियोगिता सञ्चालन गरिएको थियो। आयोजकका अनुसार चितवन र आसपासका जिल्लाबाट आएका गरी कार्यक्रमलाई दुई हजारभन्दा बढी विद्यार्थी तथा प्रविधिप्रेमीहरूले अवलोकन गरेका थिए।

रोबो रेस प्रतियोगितातर्फ ORC टिम प्रथम हुँदै विजेता बनेको छ, जसमा अभिद भण्डारी, विकास ढकाल र सुज्जल श्रेष्ठ सहभागी थिए। त्यसैगरी NPC B टिम द्वितीय (रनर अप) बनेको छ, जसमा सुशान्त श्रेष्ठ र आशिष चौधरी सहभागी थिए भने Mundra Excel टिम तृतीय स्थान हासिल गर्न सफल भएको छ, जसमा विवेक चपाई र विपुल भुसाल सहभागी थिए।

प्रोजेक्ट प्रदर्शनतर्फ The Catalyst टिम र Law Firm टिम संयुक्त रूपमा विजेता बनेका छन्। The Catalyst टिममा रोहित श्रेष्ठ र महिमा श्रेष्ठ सहभागी थिए भने Law Firm टिममा समीक्षा अधिकारी सहभागी थिइन्। त्यसैगरी People’s Choice Award तर्फ GreenMind टिम विजेता बनेको छ, जसमा अभिषेक सुवेदी, दिपन राज न्यौपाने र विधान रेग्मी सहभागी थिए।

कार्यक्रमका प्रमुख अतिथि चितवन उद्योग सङ्घका अध्यक्ष मदन घिमिरेले उद्योग र प्रविधिबीचको सहकार्य बिना देशको आर्थिक विकास सम्भव नहुने उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीलाई उद्योगमुखी सीप विकासतर्फ उन्मुख गराउँदै भविष्यका दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

Forbes

त्यसैगरी नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष बसन्त पराजुलीले प्रविधि र सञ्चार एक–अर्काका पूरक भएको उल्लेख गर्दै यस्ता नवप्रवर्तनमुखी कार्यक्रमलाई मिडियाले निरन्तर प्राथमिकता दिएर प्रवर्द्धन गर्नु आजको आवश्यकता भएको बताउनुभयो।

कार्यक्रमअन्तर्गत कुल ६० हजार रुपैयाँ बराबरको पुरस्कार राशि वितरण गरिएको थियो। विजेता तथा सहभागी टिमहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। आयोजकका अनुसार युनाइटेड टेक फ्युजन जस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको नवप्रवर्तन क्षमता, प्राविधिक सीप र आत्मविश्वास अभिवृद्धि गर्दै नेपालमा प्रविधिमूलक संस्कृतिको विकासमा दीर्घकालीन योगदान पुर्‍याउने विश्वास लिइएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु