भरतपुर कारागारबाट भागेका १३७ कैदीबन्दी फर्किएन्, सबैभन्दा बढी जबरजस्ती करणी मुद्दाका

चितवन – जेनजी प्रदर्शनका क्रममा भरतपुर कारागारबाट भागेका १३७ कैदीबन्दी सम्पर्कमा आएका छैनन् । विभिन्न अपराधमा कैद भुक्तानी गरिरहेका कैदी र अदालतबाट अन्तिम फैसला आउन बाँकी रहेर जिल्ला कारगारमा बन्दीका रुपमा रहेका ७ सय ४२ जना कैदीबन्दीमध्ये १३७ कैदीबन्दी अझै सम्पर्कमा नआएको कारागार प्रशासनले जनाएको छ ।

फरार रहेका १३७ कैदीबन्दीमध्य सबैभन्दा धेरै जबरजस्ती करणी मुद्दाका रहेका छन् । जसमा जबरजस्ती करणी मुद्दाका ३९ जना, लागुऔषधका ३५ जना, बन्यजन्तुका १८ जना, चोरी लुटपाटका १५ जना, सहकारी ठगीका १० जना, कर्तव्य ज्यानका ९ जना, बैँकिङ कसुरका ६ जना, सवारी ज्यानका ३ जना र मानव वेचबिखनका २ जना रहेका छन् ।

फरार कैदीबन्दीहरू मध्य केही जन्म कैद र आजीवन कैद अवधी तोकिएका पनि रहेको जिल्ला कारागार चितवनका प्रमुख रवीन्द्र ढुङ्गानाले जानकारी दिए ।

गृह मन्त्रालयले फरार कैदीबन्दीलाई खोजी गर्ने समिति नै गठन गरेर सम्पूर्ण कैदीबन्दीहरूलाई असोज २० गतेभित्र सम्पर्कमा आउन आह्वान गरेको थियो । सोही अनुसार भरतपुर कारागारले पनि फिर्ताको आह्वान गरेको थियो ।

उक्त समयसिमा भित्र फर्किएका कैदीबन्दीहरूलाई पहिलेकै कारबाही मात्र हुने जनाउदै समय दिएको थियो । सो समयसम्म नफर्किएका कैदीबन्दीहरूलाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन अनुसार कारबाही हुने छ ।

Forbes

भरतपुर कारागारमा ४६ जना महिला, ५ जना बालबालिका गरी ७४२ कैदीबन्दी रहेका थिए । जसमध्ये ६ सय ५ जना कैदीबन्दी आँफै फिर्ता आएका थिए भने केही कैदीबन्दीलाई प्रहरीले पक्राउ गरी कारागारमा बुझाएको थियो ।

असोज २० गतेपछी भने चितवन लगाएत विभिन्न जिल्लाबाट १८ जनालाई पक्राउ गरी भरतपुर कारागार ल्याईएको छ ।

सम्पर्कमा नआएका अन्य कैदीबन्दीहरुको खोजी भइरहेको र उनीहरूलाई नियन्त्रणमा लिने प्रयास भईरहेको उनको भनाई छ । त्यसका लागि कारागारले कैदीबन्दीको नाम, ठेगाना र फोटोसहित जिल्ला प्रहरी कार्यालय पठाएको र प्रहरी कार्यलयले अन्य जिल्लाहरुमा पठाएको ढुङ्गानाले बताए ।

भरतपुर कार्यालयमा महिला र पुरुष गरेर ५०० जनाको क्षमता रहेको छ। तर हाल भरतपुर कारागारमा ७ सय भन्दा बढी कैदीबन्दीहरू राख्दा व्यवस्थापनमा विभिन्न समस्याहरू हुँदै आएको उनको भनाई थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु