चितवन – चितवनमा यस बर्षको तिहारमा फूलको अभाव नहुने भएको छ । तिहारलाई पुग्ने फूल चितवनमै उत्पादन भएको र बाहिरबाट आयात गर्न नपर्ने भएकाले चितवनमा फूलको अभाव नहुने भएको हो।
चितवनमा यस वर्षको तिहारमा ३ लाख फूलको मालाको माग हुने अनुमान गरिएको छ । जसमध्ये व्यवसायीक फूल खेती र स्थानियले घरमा लगाएका फूलले माग धान्ने फ्लोरिकल्चर एशोसिएशन नेपाल चितवनका सचिव शुलभ श्रेष्ठ बताउँछन् ।
उनका अनुसार यो बर्ष किसानहरुलाई करिब ५० बिघा क्षेत्रफलमा पुग्ने फूलका बिरुवा बितरण गरिएको थियो । बिचको समयमा बर्षाले गर्दा १ लाख बिरुवा नष्ट भयो। सोही कारण हाल ४० बिघा क्षेत्रफलमा चितवनमा फूल खेती भएको छ । गत बर्ष पनि सोही क्षेत्रफल फूलखेती गरिएको थियो।
गत वर्ष चितवन फूलमा आत्मनिर्भर भएर अन्य जिल्लामा समेत निर्यात गर्न सफल भएको उनको भनाइ छ । उनले भने, गत बर्ष चितवनबाट फूल बाहिर निर्यात गरेका थियौ त्यसैले यसबर्ष पनि कसरी हुन्छ भारतिय फूल माला रोक्ने प्रयास गरेका छौं ।
त्यसका लागि जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारि, पालिकाका प्रमुख, उपप्रमुखसँग छलफल गरी व्यापारीहरुलाई समेत भारतीय फूलको माला चितवनमा आयात नर्गन र नगराउन अनुरोध गरिएको उनले बताए । यसबर्ष सयपत्री र मखमली फूलको मालाको मूल्य १ सय रुपैँया तोकिएको उनले बताए ।
पछिल्लो समय चितवनमा फूल खेती गर्नेको संख्या बढ्दै गएको छ । व्यवसायीक खेतीमा कृषकको आकर्षण बढ्दै जाँदा भारतबाट ठुलो मात्रामा हुने आयात कम गर्न सकिएको उनले बताए ।
चितवनमाबिभिन्न कार्यक्रमहरुमा सयपत्री मालाको प्रयोग गरिन्छ । सपिङ्ग मल सजावट, पसल सजावट, तथा बिभिन्न कार्यक्रमका लागि स्टेज सजाउनका लागि सयपत्री फूलकै प्रयोग हुने गरेको छ ।
तिहारमा मखमली र सयपत्री फूलको माग बढी हुने गरेको छ । त्यसमा पनि सयपत्रीको माग उच्च हुन्छ । असोजदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको समय पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । पछील्लो समय चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा बढी मात्रामा पुष्पखेती गरिन्छ ।


