नयाँ दिल्ली – दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार दुर्घटनामा परेको हो । कार तीव्र गतिमा गुडिरहेको बोलेरोसँग ठोक्किएको थियो ।
यस दुर्घटनामा अभिनेताको टाउकोमा चोट लागेको छ । यद्यपि, आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको विजय आफैँले पुष्टि गरेका छन् । अभिनेता अस्पतालबाट फर्किसकेका छन् ।
दुर्घटनामा उनको टाउकोमा चोट लागेको भए पनि, चिन्ता लिनुपर्ने कुनै कुरा नभएको बताइएको छ । ‘सबै ठिक छ । कार ठोक्किएको थियो, तर हामी सबै ठिक छौं’ विजय देवरकोन्डा दुर्घटना पछि आफ्नो आधिकारिक सामाजिक सञ्जाल खातामा लेखेका छन् ।
आफू घर फर्किसकेको अनि स्टे«न्ट वर्कआउट समेत गरेको पनि उनले बताए । आफ्नो टाउकोमा चोट लागेको भएपनि चोट बिरयानी र राम्रो निद्राले ठिक नहुने खालको भने नभएको उनले बताए ।
अक्टोबर ५ मा विजय देवरकोन्डा आफ्नो परिवारसँगै भगवान श्री सत्य साई बाबाको महासमाधीको दर्शन गर्न पुट्टपर्ती गएका थिए । उनी सोमबार हैदराबाद फर्कँदै । अभिनेताको कार जोगुलम्बा गडवाल जिल्लाको उन्डावल्ली क्षेत्र (एनएच–४४) मा दुर्घटनामा पर्यो ।
विजयको कारलाई पछाडिबाट तीव्र गतिमा आएको बोलेरोले ठक्कर दियो । बोलेरो चालकले रोक्नुको सट्टा घटनास्थलबाट भागे । विजयको चालकले स्थानीय प्रहरीलाई दुर्घटनाको खबर गरे । कार ठोकेपछि भाग्ने ती चालकको खोजी भइरहेको छ ।


