काठमाडौं – नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो रनले हराउदै यूएईमा जारी युनिटी कप टी-२०आई शृंखला एक खेल अगावै जितेको छ । नेपालले दिएको १७४ रनको बलियो लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट हुदा नेपालले कीर्तिमानसहित १ खेलअगावै सिरिज जितेको हो।
पहिलो खेलमा १९ रनको जित निकालेको नेपालले वेस्ट इन्डिजमाथि लगातार कीर्तिमानी जित निकालेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १७४ रनको विशाल लक्ष्य दिएको थियो। उक्त लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमा अल आउट भयो।
तीन वर्षपछि क्रिकेटमा पुनरागमन गरेका मोहम्मद आदिल आलमले ४ विकेट लिए। आदिलले आफ्नो स्पेलमा मात्र २४ रन खर्चे। कुशल भुर्तेलले २ विकेट लिए। दीपेन्द्रसिंह ऐरी, करण केसी र ललित राजवंशीको नाममा समान एक विकेट रह्यो।
नेपाल एक समय ६.४ ओभरमा ३–४३ को अवस्थामा रहेको थियो। चौथो विकेटका लागि सन्दीप जोरा र आशिफ शेखले १ सय रनको साझेदारी गरेपछि नेपाल बलियो योगफलतर्फ उन्मुख भएको थियो। ३९ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका सन्दीप ६३ रन बनाउँदा क्याच आउट हुन पुगे।
आशिफ शेख ६८ रनमा अविजित रहे। आशिफले ४७ बलमा ८ चौका र २ छक्का प्रहार गरे। आशिफ शेखले ३४ बलमा ८ चौका सहयोगमा अर्धशतक पूरा गरेका थिए। पुर्ण टेष्ट टोलीविरुद्ध अर्धशतक पूरा गर्ने आशिफ पहिलो नेपाली खेलाडी हुन्।
मोहम्मद आदिल आलम ५ बलमा १ चौका र १ छक्का सहयोगमा ११ रन बनाउँदा एलबीडब्लु धरापमा परे। वेस्ट इन्डिजका लागि अकिल हुसैन र काइल मेयर्सले समान २ विकेट लिए। जेडिया ब्लाडेसले १ विकेट आफ्नो नाममा गरे।सिरिजको तेस्रो तथा अन्तिम खेल भोलि मंगलबार हुनेछ।


