काठमाडौँ – विद्युतीय सवारी साधन (ईभी) सम्बन्धी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित भीजी मोटर्सले प्रशिक्षकहरूको तालिम (ट्रेनिङ अफ ट्रेनर्स–टीओटी) सुरु गरेको छ।
पहिलो चरणको तालिम शनिबार काभ्रेको बनेपामा रहेको संयुक्त ड्राइभिङ ट्रायल सेन्टरमा सम्पन्न भएको हो। उक्त तालिममा सातै प्रदेशबाट आमन्त्रित ४५ जना अनुभवी चालक प्रशिक्षकहरू सहभागी थिए।
भीजी मोटर्सले यो तालिम आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको हो। यसको उद्देश्य विद्यालय तथा सार्वजनिक सवारी चालकहरूलाई दीर्घकालीन रूपमा सुरक्षित, सचेत र जिम्मेवार तरिकाले विद्युतीय सवारी सञ्चालन गर्न सक्षम बनाउनु रहेको कम्पनीको भनाइ छ।
तालिममा सहभागी प्रशिक्षकहरूलाई ईभीको प्रविधि, सञ्चालन शैली, सुरक्षा सावधानी, र व्यावहारिक सीपहरू प्रदान गरिएको कम्पनीले जनाएको छ।


