एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा सन्तोष कुँवरको उम्मेदवारी

एटुजेड समाचार

ब्रिस्बेन,अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि अध्यक्ष पदमा सन्तोष कुँवरले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत सन्देश प्रकाशित गर्दै कुँवरले आफू अध्यक्ष पदका प्रत्यासीको रूपमा निर्वाचनमा होमिन लागेको जानकारी दिएका हुन्।

ब्रिस्बेन निवासी कुँवर विगत एक दशकभन्दा बढी समयदेखि एनआरएनए अष्ट्रेलियाको विभिन्न तहमा सक्रिय रहँदै आएका छन्। एक अन्तर्राष्ट्रिय विद्यार्थीको हैसियतमा अष्ट्रेलिया ओर्लिएपछि उनले उच्च शिक्षा हासिल गर्ने लक्ष्यसहित नयाँ जीवनको सुरुआत गरेका थिए। अध्ययनसँगै सामाजिक कार्यमा रुचि राख्ने कुँवर विभिन्न संस्थागत गतिविधिहरूमा सहभागी हुँदै गैरआवासीय नेपाली संघप्रति आकर्षित भए। यही यात्राको क्रममा उनले सन् २०१५ मा राज्य समन्वय परिषद् (State Coordination Council) को सचिवको जिम्मेवारी सम्हाल्दै संस्थामा औपचारिक प्रवेश गरे।

त्यसयता उनी राज्य संयोजक (२०१७–२०१९), अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य (२०१९–२०२१), ओसेनिया क्षेत्रीय उपसंयोजक (२०२१–२०२३) हुँदै हाल महासचिवको जिम्मेवारी सम्हालिरहेका छन्। यो सम्पूर्ण यात्रालाई उनले “प्रत्यक्ष तथा परोक्ष रूपमा संस्थाको दिगो विकासका लागि समर्पित एक दशक” को रूपमा वर्णन गरेका छन्।

कुँवरले उल्लेख गरेका छन् कि एनआरएनए अष्ट्रेलियालाई संस्थागत रूपले मजबुत पार्ने, प्राविधिक रूपमा सुदृढ बनाउने, आर्थिक पारदर्शिता कायम गर्ने, सरकारी संयोजनका माध्यमबाट नेपाली समुदायलाई सेवा पुर्‍याउनेजस्ता विषयहरूमा आफू निरन्तर सक्रिय रहँदै आएका छन्। “संस्थालाई प्रविधिमैत्री र जनमुखी बनाउने मेरो प्रयास अब नेतृत्वदायी भूमिकाबाट अघि बढ्नेछ,” उनले भनेका छन्।

उनले हालका अध्यक्ष अनिल पोखरेलको नेतृत्वमा संस्था थप व्यवस्थित र गतिशील बन्दै गएको उल्लेख गर्दै, आफू महासचिवको हैसियतमा त्यस यात्रामा न्यायपूर्वक भूमिका निर्वाह गर्न सफल भएको बताए। “यो सामूहिक प्रयास थियो, जसमा म पनि एउटा अंग थिएँ,” उनको भनाइ छ, “अब नेतृत्वको जिम्मेवारी सम्हाल्दै संस्थालाई अझ प्रभावकारी ढंगले अघि बढाउने अभिप्रायसहित उम्मेदवारी दिएको छु।”

सन्देशमा कुँवरले आगामी दुई वर्षका लागि आफ्नो विस्तृत कार्ययोजना तयार भइसकेको उल्लेख गर्दै ती योजनाहरू क्रमशः सामाजिक सञ्जालमार्फत भिडियो र पोष्टको माध्यमबाट सार्वजनिक गर्ने जानकारी पनि दिएका छन्।

उनले अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायसँग सल्लाह, सुझाव, समर्थन र सहयोगका लागि हार्दिक आग्रह गरेका छन्। “संस्थाको भविष्य र प्रभावकारितालाई अझ मजबुत बनाउने हाम्रो साझा जिम्मेवारी हो,” उनले भनेका छन्, “तपाईंहरूको विश्वास र साथले मात्रै यो अभियान सफल हुनेछ।”

उनको उम्मेदवारीसँगै एनआरएनए अष्ट्रेलियाको निर्वाचन प्रतिस्पर्धा औपचारिकरूपमा सुरु भएको छ। कुँवरको अनुभव, स्पष्ट योजना र निरन्तर सेवा भावनाका कारण उनी प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका छन्। अब अन्य सम्भावित उम्मेदवारहरूको घोषणा हुने क्रमसँगै निर्वाचन अभियान थप चर्किने अनुमान गरिएको छ। यस अघि अध्यक्ष पदकै लागि सञ्जिव ढकाल गोर्खालीले उम्मेदवारी घोषणा गरिसकेका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु