काठमाडौँ — गत सातादेखि अमेरिकाको लस एन्जलस केन्द्रित आन्दोलन अन्य राज्यमा पनि फैलिँदै गएको छ । कतिपय अमेरिकी मिडियाले पछिल्ला घटनाक्रमले अमेरिकामा आपतकालीन अवस्था निम्तिएको विश्लेषण गर्न थालेका छन् ।
आप्रवासन नीतिविरुद्ध आन्दोलन चर्किँदै गएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अघि बढाइरहेको आप्रवासन नीतिविरुद्ध ६ दिनदेखि क्यालिफोर्निया राज्यको लस एन्जलसमा आक्रमक प्रदर्शन भइरहेको छ । जुन पछिल्ला दिनमा अन्य ठूला राज्यका मुख्य सहरमा पनि चर्किन थालेको छ ।
क्यालिफोर्नियाको लस एन्जलसका अलवा सान फ्रान्सिस्को, डेन्भर, डल्लास, अस्टिन, बोस्टन, फिलाडेल्फिया, एटलान्टा जस्ता सहरमा पनि प्रदर्शन सुरु भएको छ । प्रदर्शन चर्किंदै जाँदा लस एन्जलस र वाशिङ्टनका नगर प्रशासनले बुधबार राति कर्फ्यु लगाएका थिए । प्रदर्शनकारीले राष्ट्रपति ट्रम्पको आप्रवासन नीति र यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट ९आइस० विरुद्ध नाराबाजी गरिरहेका छन् ।
ट्रम्प प्रशासनले आप्रवासन नीति कार्यान्वयनको चरणमा आइसले लस एन्जलसमा बसोबास गरिरहेका कागजातविहीन आप्रवासीलाई बासस्थानमै गएर छापा मार्न थालेपछि विशेषगरी दक्षिण अमेरिकी मुलुकका आप्रवासीले आन्दोलनको सुरुवात गरेका हुन् । आन्दोलन चर्किंदै गएपछि ट्रम्प प्रशासनको निर्देशनमा २ हजार नेसनल गार्ड र सात सय सेनासमेत परिचालन गरिएको थियो ।


