चितवन – भरतपुर महानगरपालिका वडा नं. २८, गोलाघाटमा रैथाने सांस्कृतिक गाउँ निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिकाले बागमती प्रदेश सरकारलाई सांस्कृतिक गाउँलगायतका संरचना निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न पत्राचार गरेको छ ।
पर्यटकीय दृष्टिकोणले अथाह सम्भवाना बोकेको गोलाघाटमा रैथाने सांस्कृतिक गाउँ बनाउने सन्दर्भमा महानगरपालिका र एमके कन्सल्ट्यान्ट एण्ड कन्स्ट्रक्सन प्रा. लि. बिच सम्झौता भइसकेको छ । सम्झौतापछि सिभिल ईन्जिनियर किरण परियार, समाजशास्त्री कमला बस्नेत, भरतपुर महानगरपालिका वडा नं. २८ का सदस्यहरु पूर्णबहादुर कुमाल, शेरबहादुर कुमाल, पूर्वप्रधानपञ्च जयमंगल कुमाल, बुद्विजिवी श्यामप्रसाद अधिकारी, रास्वपा अध्यक्ष केशव गौतमलगायत कुमाल, थारू र तामाङ जातिको अगुवासहितको छलफल बिहीबार गोलाघाटमा सम्पन्न भएको छ ।



भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीलगायतको उपस्थितिमा भएको छलफलमा कुमाल, थारू र तामाङ समुदायमा व्यक्तिको जन्मदेखि मृत्युसम्मको संस्कार, पहिरन, भाषा र रहनसहनको विषयमा विवरण लिने र दिने काम समेत भएको थियो । मेयर दाहालसहितको टोलीले रैथाने सांस्कृतिक गाउँ स्थापना गर्ने ठाउँको निरीक्षण गरेपछि निकट भविष्यमा डिपिआर भई रैथाने सांस्कृतिक गाउँ बन्नेमा गोलाघाटवासी ढुक्क बनेका छन् ।
गोलाघाटमा सांस्कृतिक गाउँको अतिरिक्त गोलाघाट आइल्याण्ड, गोलाघाट भ्यु हिल, गोलाघाट स्यान्डी बिच एक्टिभिटी, फ्लोरा एन्ड फाउना म्युजियम, पिकनिक स्पट र पोड वेको लागि पनि डिपिआर र बजेटको माग गरिएको छ ।