चितवन – मजदुरहरुको संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ, जिल्ला समिति चितवनले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला संयोजक नवराज लामिछाने, मजदुर नेता यदुमणि कँडेललगायतको टोलीले मेयर दाहाललाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।
‘भरतपुर महानगरपालिकाभित्र कार्यरत श्रमिकहरु आजसम्म पनि नियमित रोजगारीमा नभई ठेकेदारमार्फत् करारमा काम गर्नुपर्ने अवस्थाले गर्दा न्युनतम पारिश्रमिक र सामाजिक सुरक्षाबाट समेत वञ्चित हुनु परेको छ’ ज्ञापनपत्रमा भनिएको छ ।
‘श्रम ऐन २०७४ ले रोजगारीको प्रकृति स्पष्ट पारेको छ’ ज्ञापनपत्रमा अगाडि भनिएको छ, ‘महानगरपालिकाभित्रका सरकारी तथा गैरसरकारीलगायत विभिन्न उद्योग प्रतिष्ठान एवं नियमित रोजगारदाताहरुले श्रमिकहरुलाई करार तथा ठेक्कापट्टामा काम लगाउनाले हामी चिन्तित मात्र भएका छैनौँ, घोर भत्र्सना समेत गर्दछौँ ।’
श्रम ऐन २०७४ तथा सामाजिक सुरक्षा ऐन २०७४ ले कामदार तथा श्रमिकहरुलाई रोजगार सम्झौता गर्दा अनिवार्यरुपमा सामाजिक सुरक्षा कोषमा पञ्जिकरण गर्नु वा गराउनु पर्ने बाध्यकारी व्यस्था भए पनि सरकारी, गैरसरकारी तथा महानगरपालिकाभित्रका उद्योग प्रतिष्ठानहरुले कामदार श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागी नगराई काम लगाएकोप्रति महानगरपालिका प्रमुखलाई ध्यानाकर्षण गराइएको र कार्यान्वयनका लागि अनुरोध गरिएको महासंघका जिल्ला संयोजक नवराज लामिछानेले बताए ।


