युक्रेन युद्धबारे पुटिन र जेलेन्स्कीसँग कुराकानीको तयारीमा ट्रम्प

वासिङटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा भइरहेको ‘रक्तपातपूर्ण युद्ध रोक्न’ रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग कुराकानीको तयारी गरिरहेको बताएका छन् ।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलको पोस्टअनुसार ट्रम्पले पुटिनसँग सोमबार नै कुराकानी गर्दैछन् । कुराकानीको विषयहरू रक्तपात रोक्ने र व्यापार हुने ट्रम्पको भनाइ छ । रूस युक्रेन युद्धमा सातामा औसतमा ५ हजार भन्दा बढी रुसी र युक्रेनी सैनिकहरूको ज्यान गइरहेको उनको भनाइ छ ।

राष्ट्रपति ट्रम्पले बारम्बार रुस-युक्रेन युद्धका मृतकको संख्या अत्यधिक रहेको दाबी गरेका छन् । उनले दाबी गरेअनुसारको मृतक संख्या आधिकारिक तथ्यांक वा खुला स्रोत अनुसन्धानमा आधारित अनुमानभन्दा निकै बढी हुने गरेको छ ।

रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले राज्य-सञ्चालित समाचार एजेन्सीसँग कुराकानी गर्दै अमेरिकी र रुसी राष्ट्रपतिबीचको फोन वार्ताका लागि तयारी भइरहेको पुष्टि गरेका छन् ।

पुटिनसँगको कुराकानीपछि ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग पनि कुराकानी गर्दैछन् । त्यसका साथै नेटो नेताहरूसँग पनि संवाद गर्ने उनको भनाइ छ । ‘आशा छ यो दिन फलदायी हुनेछ, युद्धविराम हुनेछ, र कहिल्यै हुनै नपर्ने अत्यन्तै हिंसात्मक युद्ध अन्त्य हुनेछ,’ ट्रम्पले लेखेका छन् ।

Forbes

ट्रम्पले शान्ति प्रक्रियामा कुनै ठोस प्रगति गर्न सक्नेछन् वा छैनन् भन्ने कुरा अझै स्पष्ट छैन । हालै मात्र रुस र युक्रेनबीच टर्किएको इस्तानबुलमा वार्ता भएको वार्तामा युद्धविरामको सहमित जुट्न सकेन । तर वार्तामा दुवै देशले एक हजार युद्धबन्दी साटासाटा गर्ने सहमति गरेका थिए ।

पछिल्लो समय युक्रेनले युद्धविरामका लागि तयार रहेको बताउँदै आएको छ । तर रुस भने त्यसमा तयार भइसकेको छैन ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु