चितवन – भरतपुर १० स्थित कोशिश अस्पतालमा नि:शुल्क स्वास्थ्य परिक्षण भएको छ । आज (सोमबार) बुद्ध जयन्तीको अवसर पारेर अस्पतालले ओपिडी सेवा र लिपिड प्रोफाइल परिक्षण नि:शुल्क गरेको हो ।
अस्पतालका प्रबन्ध निर्देशक डा. सन्तोष गुरुङले बुद्ध जयन्तीका अवसरमा शान्ति, करुणा र सेवाभावका साथ विशेष स्वास्थ्य सेवा कार्यक्रम गरिएको बताए ।
कतिपयले रोग लुकाएर बस्ने, समयमा परिक्षण र उपचार नगर्ने जस्तो पनि पाईन्छ त्यसैले सानो भएपनी सर्वसाधारणलाई सहयोग होस् भन्ने उदेश्यले नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको बताए ।
जसमा ओपिडी सेवा र लिपिड प्रोफाइलको नि:शुल्क जाँचका साथै अन्य विभिन्न सेवामा विशेष छुट गरिएको बताए । भिडियो एक्स–रेमा ५० प्रतिशत, एक्स–रे, ल्याब र सर्जरीमा २५–२५ प्रतिशत एवं औषधीमा पाँच प्रतिशत छुटको गरिएको हो ।
भरतपुर १० स्थित स्याउलीबजारबाट आएकी तुलसी ज्ञवालीले आफुले लिपिड प्रोफाइल अर्थात कोलिस्टोरको परिक्षण गरेको बताईन् । यस्ता कार्यक्रमले रोगको समयमै पहिचान हुने र समयमै उपचार गर्न सकिने हुँदा यस्ता कार्यक्रम हुन आवश्यक रहेको बताइन् ।
यस्तै भरतपुर महानगरपालिका ३ बाट स्वास्थ्य परिक्षण गर्न आएका पवन कुमार खन्नाले सय प्रतिशत छुटका साथ लिपिड प्रोफाइल चेकजाँच गर्न पाएको भन्दै खुशी व्यक्त गरे ।
अस्पतालका बरिष्ठ फिजिसियन तथा मधुमेह रोग बिशेषज्ञ डा, सनोज श्रेष्ठले शरीरमा कोलिस्टोरको मात्रै बढ्दै जाँदा शरीरका विभिन्न अङ्गहरुमा असार गर्ने हुनाले समय समयमा यसको परिक्षण गर्न आवश्यक रहेको बताए ।
उनले बिशेष गरी ४० बर्ष उमेर कटेका व्यक्तिहरुले बर्षमा एकपटक लिपिड प्रोफाइल चेक गर्नुपर्ने बताए । आजको क्याम्पमा स्वास्थ्य परिक्षण गरेका व्यक्तिहरुको समग्रमा राम्रै रिपोर्ट आएको समेत उनले बताए ।
कोशिश अस्पतालले यसअघि पनि सामाजिक दायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुसँग मिलेर नि:शुल्क हेल्थ क्याम्प गर्दै आइरहेको छ । अस्पतालको वार्षिक क्यालेन्डर अनुसार बर्षमा एक पटक विभिन्न किसिमका निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम
गर्दै जाने जनाएको छ ।
आजको क्याम्पमा सेवाग्राहिले लिपिड प्रोफाइल चेकसँगै अन्य उपचारका सेवाहरु लिएका थिए । नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा ९० भन्दा बढीले सेवा लिएका थिए ।


