बारामा सवा दुई क्विन्टल गाँजासहित चार जना पक्राउ

बारा – बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकाबाट प्रहरीले २२५ किलो गाँजा बरामद गर्दै एक ट्याक्टर र चार जना लागुऔषध तस्करलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार, पक्राउ पर्नेहरूमा ट्याक्टर चालक नन्दकिशोर मुखिया बिन (३०), बारा आदर्शकोतवाल–३ बाँतरा, कमाण प्रजा (२१), हेटौंडा उपमहानगरपालिका–४, सिताराम प्रजा (२४), कैलाश गाउँपालिका–४ देवतिस, र नवराज मगर (२२), बकैया गाउँपालिका–५ छतिवन, मकवानपुर रहेका छन्।

प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा आदर्शकोतवाल–३ बाँतराको खेतछेउमा पार्किङ गरिएको प्र.२–०३–००१त ४८७६ नं को ट्याक्टरको ढालामुनि फल्स बटम बनाई लुकाएर राखिएको गाँजा फेला परेको हो।

शुक्रबार साँझ इलाका प्रहरी कार्यालय बारागढीबाट इन्स्पेक्टर कुसुम नायकको कमान्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा प्लास्टिकले बेरिएको अवस्थामा १५ वटा काटुनमा २२५ किलोग्राम गाँजा बरामद गरेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गाँजा तस्करीमा चालकसहित अन्य तीन जनाको संलग्नता देखिएको थियो। त्यसपछि कोल्हवी बजारस्थित रोज उड होटलको कोठा नम्बर ३०३ मा छापा मारेर ती तीन जनालाई पक्राउ गरिएको हो।

Forbes

बरामद सामग्री र पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु