अस्ट्रेलिया — आगामी शनिबार मतदान हुने अस्ट्रेलियाको संसदीय निर्वाचनमा अघिल्ला वर्षजस्तै यसपाला पनि नेपाली मूलका अस्ट्रेलियाली उम्मेदवार मैदानमा देखिएका छन् । मताधिकार प्रयोग गर्न पाउने नेपाली मूलका अस्ट्रेलियालीको जनसंख्या बढेसँगै राजनीतिक वृत्तमा पकड जमाउन उनीहरु अग्रसर देखिएका हुन् । यसपालाको केन्द्रीय निर्वाचनमा सिड्नी निवासी नेपाली मूलका युवा विनोद पौडेल प्रमुख प्रतिपक्षी दल लिबरलको तर्फबाट म्याकाथर निर्वाचन क्षेत्रका लागि संसदीय उम्मेदवारका रूपमा मैदानमा देखिएका छन् ।
नेपाली मूलका अस्ट्रेलियालीहरु उम्मेदवारका रुपमा देखा परेको यो पहिलोपटक भने होइन । यसअघि पश्चिम अस्ट्रेलियाबाट भुवन खड्का, सिड्नीबाटै प्रमेज श्रेष्ठले अस्ट्रेलियाका ठूला पार्टीका तर्फबाट निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका छन् । यसका साथै न्यु साउथ वेल्सस्थित राज्यको संसदीय निर्वाचनमा सिड्नीका एलेक्स कार्की लेबर उम्मेदवारका रुपमा केलिभिल निर्वाचन क्षेत्रबाट, ज्योसना पौडेल क्याम्पेलटाउन क्षेत्रका लागि लिबरल उम्मेदवारका रुपमा उठेका थिए भने स्नेहा केसी क्यानबेराबाट उम्मेदवार बनेकी थिइन् ।
अहिले अस्ट्रेलियामा अनुमानित २ लाखभन्दा बढी नेपाली बसोबास गरिरहेका छन् । जसमध्ये यहाँ नागरिकता लिएका नेपालीको संख्यासमेत उल्लेख्य रुपमा बढिरहेकाले अस्ट्रेलियाका ठूला राजनीतिक दलको रोजाइमा नेपाली पर्न थालेका हुन् ।
अघिल्लोपटक पनि विनोद पौडेल म्याकाथर निर्वाचन क्षेत्रबाटै उम्मेदवार बनेका थिए । त्यतिबेला उनी अघिल्लो दुई कार्यकालदेखि नै निरन्तर विजयी बनिरहेका माइकल फ्रिल्यान्डरसँग करिब १७ हजार भोट अन्तरले पराजित भएका थिए । तर यसपाला अवस्था फेरिएको भन्दै उनी विजयी हुने दाबी गर्छन् ।
सन २००० को सुरुवातदेखि बाक्लिएको नेपालीको प्रभाव करिब ३ दशकको अवधिमा नै यो अवस्थामा आइपुग्नुलाई अस्ट्रेलियामा सामाजिक सफलताका रुपमा लिइएको छ । संघीय निर्वाचनमा मात्र नभएर अस्ट्रेलियाका विभिन्न राज्यका काउन्सिलमा समेत नेपालीले आफ्नो पकड बनाइरहेका छन् । विशेष गरेर नेपाली मूलका महिला यहाँका काउन्सिलमा सदस्यका रुपमा आफूलाई उभ्याउन सफल बनिसकेका छन् । अहिले दक्षिण अस्ट्रेलियामा रेणुका लामा, सिड्नीमा भद्र वाइबा र सुकृति भट्ट काउन्सिल सदस्यका रुपमा निर्वाचित भइसकेका छन् ।
पीआरपछि यहाँको नागरिकता लिएर मतदानको अधिकार लिने नेपाली मूलका मतदाताको संख्या बढेसँगै यहाँका प्रधानमन्त्री, प्रिमियर, विपक्षी दलका नेताले नेपालीलाई विभिन्न सन्दर्भमा बधाई तथा शुभकामना दिने क्रमसमेत बढ्न थालेको छ । नेपाली नयाँ वर्ष, दसैंतिहार लगायतका नेपाली पर्वको अवसर पारेर शुभकामना दिने क्रम सामान्य बन्न थालिसकेको छ । यसको मुख्य उद्देश्य नेपाली मूलका नागरिकसँग सम्बन्ध स्थापित गर्ने मात्र नभएर मतदातालाई आफूतिर आकर्षित गर्नेसमेत रहेको हुन्छ ।
हरेक दिन बिहानैदेखि मतदातासँग भोट माग्न हिँडिरहेका पौडेल भने यहाँका ठूला राजनीतिक दलले नेपाली मूलका युवालाई विश्वास गर्नु यहाँ रहेका नेपाली मात्र नभएर समग्र नेपालकै लागि गर्वको विषय भएको बताउँछन् । आफूले जिते सबै समुदायका लागि काम गर्ने र नेपाल तथा अस्ट्रेलियाको द्विदेशीय सम्बन्ध विस्तारमा पुर्याउन सक्ने सबै योगदानमा दत्तचित्त भएर लाग्ने उनको भनाइ छ ।


