अक्षय तृतीयाले सिकाएको सातु र सर्वतको महत्त्व

सानो छँदा अक्षय तृतीयामा सातु र सर्वत खान ठुलीआमा, सानीआमा, फुपू, काकीहरूकहाँ जान्थ्यौं । त्यसबेला थाहै थिएन, हामीले त अति स्वस्थकर सातु र भिटामिनले भरिपूर्ण कागतीको सर्वत पो खाँदा रहेछौं । गर्मीयाम आउने बित्तिकै चनाको सातुले बनेको पेय जति स्वादिष्ट छ, स्वास्थ्यको हिसाबले पनि उत्तिकै फाइदाजनक छ ।

चनाको सातुले बनेको पेय पिउनाले शरीर पनि स्वस्थ रहन्छ । चनाको सातु तयार गरी जुनसुकै बेला पिउन सकिन्छ । चनाको सातुमा प्रोटिन, फाइबर, कार्बोहाइड्रेट र आइरन जस्ता धेरै प्रकारका पोषक तत्त्वहरू पाइन्छ । खाँदा पाचन प्रणाली पनि बलियो रहन्छ । यसमा बिरे नुन र कागती मिसाएर पिउँदा शरीरमा ऊर्जा पनि मिल्छ ।

अस्वस्थ र महँगो चिसो पेय पदार्थको सट्टा गर्मीमा कागती–पानीको सर्वत र अलिकता सखर वा चिनी, नुन र कालो मरिच हालेर खानुपर्छ भन्ने कुरा अक्षय तृतीयाले सिकाएको छ, तर त्यो सिकाइलाई बेवास्ता गरिएको छ । कागती र अमला पौष्टिकताले भरिपूर्ण फलफूल हुन् । यसबाट पेय पदार्थ बनाउन सकिन्छ । अचार र दालमा हाल्न सकिन्छ, नुनसंँग चुस्न सकिन्छ । यसले लामो यात्रामा जाँदा वाकवाकी कम गर्छ ।

कागतीको बोक्रालाई सानो–सानो टुक्रा पारेर, सिसीमा नुनसँग मिसाएर वा भिनेगरमा भिजाइराखेर घाममा राख्दा केही दिनपछि अचारजस्तै खान सकिन्छ । कागतीको बोक्रामा केही मात्रामा क्याल्सियम, पोटासियम र रेशादार पदार्थ पनि हुन्छ । रेशादार पदार्थको भोजनले कब्जियत गर्न दिँदैन । ‘पौष्टिकताले भरिएको कागती गर्मीमा सर्वत बनाएर पिउन उत्तम हुन्छ र जाडोमा तातो पानीमा महसँंग मिसाएर खाँदा रोगसंँग लडने शक्ति पनि बढ्छ,’ बज्यै भन्नुहुन्थ्यो ।

कुनै स्वास्थ्यकर्मीले ‘तपाईलाई भिटामिन सीको कमी भएको छ, चक्की खानुस्’ भन्यो भने कसैले पनि ‘हाम्रो भान्छा वा बारीमा पाइने फलफूल र खानेकुराबाट भिटामिन सी पाइँदैन र ?’ भन्ने प्रश्न गर्दैन । सबै शारीरिक समस्याका लागि चक्की खानैपर्छ भन्ने हामी ठान्छौं । हामीले बिर्सन्छौं कि यस्ता चक्की पनि वनस्पतिबाटै बनाइन्छन् । अक्षय तृतीयाले सिकाएको कागतीको महत्त्व बुझेर वर्षैभरि प्रयोग गरे भिटामिन सीको चक्की खान जरुरत पर्दैन ।

कागतीको रस ‘हटलेमन’ वा ‘लेमन टी’ भनेर ठूला होटलमा दुई सय रुपैयाँमा एक गिलास खाँदाचाहिँ हामी गर्व महसुस गर्छौं । १० रुपैयाँमा कागती किनेर बनाउन सकिने तर घरको लेमन टी र कागती सर्वतलाई चाहिँ बेवास्ता गर्छौं । घरमा पाहुनालाई चिसो पेय पदार्थको सट्टा कागतीको चिया दिन सुरु गर्दा पहिले केही असजिलो लाग्न सक्छ । तर मानिसले आफ्नो स्वास्थ्य राम्रो पार्न सस्तो कागती नै उत्तम हुन्छ भन्ने बुझ्छन्, अनि विस्तारै सहज लाग्न थाल्छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु