आइपिएलमा चम्किए चौध वर्षीय वैभव सूर्यवंशी, पैँतिस बलमा शतकसँगै बनाए कीर्तिमान

भारत – २८ अप्रिल २०२५ को रात । दुई खेलको अनुभवसहित मैदानमा प्रवेश गरेका १४ वर्षीय वैभव सूर्यवंशीले पहिलो बलमा स्ट्रेट ड्राइभमा छक्का प्रहार गरे । वैभवले त्यसपछिका केही बलहरूमा रन निकाल्न सकेनन् । सात बलमा उनले नौ रन मात्र बनाए ।

त्यसपछि चौथो ओभर आयो, जसमा वैभवले आफ्नो मनसाय स्पष्ट पारे । यो ओभर १००+ टेस्ट र १००+ आईपीएल खेलका इशान्त शर्माले बलिङ गरेका थिए । वैभवले पहिलो बलमा स्क्वायर लेगको बाउन्ड्रीमाथि छक्का, दोस्रो बलमा मिडविकेटको बाउन्ड्रीमाथि छक्का, तेस्रो बलमा चौका, पाँचौं बलमा थर्ड म्यान बाउन्ड्रीमाथि छक्का र छैटौं बलमा चौका प्रहार गरे ।

यस ओभरमा कुल २८ रन बन्यो र यो इशान्तको आईपीएल करिअरको सबैभन्दा महङ्गो ओभर पनि साबित भयो । टोलीको स्कोर केवल चार ओभरमा ५० रन पार गर्‍यो ।

पाँचौं ओभरमा वैभवले दुई छक्का र एक चौका प्रहार गर्दै केवल १७ बलमा यस सिजनको सबैभन्दा छिटो अर्धशतक पूरा गरे । टोलीको स्कोर १६.२० को रन रेटमा ८१ रन भयो ।

वैभवको आँधीबेहरी पारीका कारण आवश्यक रनरेट १०.५० बाट ८.६० मा झर्‍यो । त्यसपछि खेलको १०औं ओभर आयो । शुभमन गिलको स्थानमा गुजरातको कप्तानी गरिरहेका रशिद खानले बल करीम जन्नतलाई दिए ।

Forbes

वैभवले १०औं ओभरका सबै बलहरू सीमाभन्दा बाहिर पठाए । पहिलो बल – स्क्वायर लेगमा छक्का, दोस्रो बल – डिप पोइन्टमा चार, तेस्रो बल – डिप स्क्वायर लेगमा छक्का, चौथो बल – स्ट्रेट ड्राइभबाट चार, पाँचौं बल – लङ अफमा चार, छैटौं बल – डिप मिड विकेटमा अर्को छक्का । यस ओभरमा वैभवले ३० रन बनाए, जसमा तीन छक्का र त्यति नै चौका समावेश थिए ।

राशिद खानको अर्को ओभरमा स्ट्राइक पाउने बित्तिकै उनले फेरि बललाई बाउन्ड्री माथिबाट छक्का प्रहार गरे र यसरी ११ छक्का र सात चौका प्रहार गर्दै आईपीएल इतिहासको दोस्रो सबैभन्दा छिटो शतक बनाए ।

वैभवको यो उपलब्धिको लागि सम्पूर्ण रङ्गशाला तालीले गुन्जियो, सबै जना वैभवको सम्मानमा उभिरहेका थिए । वैभवको सम्मानमा प्रशिक्षक राहुल द्रविड पनि आफ्नो ह्वीलचेयरबाट उठे र ताली बजाउन थाले । खुट्टामा चोट लागेका कारण द्रविडले बैसाखी र ह्वीलचेयर प्रयोग गर्नुपरेको छ ।

सन् १९९६ मा शाहिद अफ्रिदीले एकदिवसीयमा केवल ३७ बलमा शतक प्रहार गर्दा अविश्वसनीय लाग्यो, तर १४ वर्षीय वैभव सूर्यवंशीले जे गरे त्यो अकल्पनीय थियो । वैभवले आफ्नो इनिङमा थप एक रन थपे र प्रसिद्ध कृष्णको बलमा बोल्ड भए र यससँगै आइपीएलको १८ वर्षमा अहिलेसम्म देखिएको सबैभन्दा अद्भुत इनिङको अन्त्य भयो ।

प्याभिलियन फर्कनुअघि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका यशस्वी जयस्वाल र नितिश राणाले उनलाई अँगालो हाले भने । सिराज, साई सुदर्शनलगायत गुजरात टाइटन्सका धेरै खेलाडी उनको नजिक गएर बधाइ दिए । खेलको कमेन्ट्री गरिरहेका पूर्व क्रिकेटर शास्त्रीले भने, ‘कस्तो अद्भुत इनिङ थियो ।’

शास्त्रीसँगै कमेन्ट्री गरिरहेका वेस्ट इन्डिजका पूर्व क्रिकेटर ड्यारेन गङ्गाले भने, “एउटा ऐतिहासिक इनिङ समाप्त भएको छ । यो एकदमै विशेष इनिङ थियो ।”

धेरै आईपीएल रेकर्ड तोडे वैभव सूर्यवंशीले 

आईपीएलमा सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी बने,

आईपीएल इतिहासमा दोस्रो सबैभन्दा छिटो शतक । सबैभन्दा छिटो शतकको रेकर्ड क्रिस गेल (३० बल) को नाममा छ ।

वैभव टी-२० क्रिकेटमा सबैभन्दा कान्छो शतक बनाउने खेलाडी (१४ वर्ष ३२ दिन )।

११ छक्का प्रहार गर्दै वैभवले मुरली विजयको आईपीएल इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान बराबरी गरे ।

वैभवको ९३.०६% रन (१०१ रन मध्ये ९४) चौका वा छक्काबाट आएको थियो । यो टी-२० मा बनाएको शतकको उच्चतम प्रतिशत हो ।

यसबाहेक करीम जन्नतको ओभरमा वैभवले ३० रन बनाए । यो कुनै पनि आईपीएल बलरको करिअरको पहिलो ओभरमा रेकर्ड हो ।

राजस्थानले १५.५ ओभरमा २१० रन बनाएर जित हात पार्‍यो । यो टी-२० मा २०० भन्दा बढीको स्कोर पछ्याउने सबैभन्दा कम ओभरको रेकर्ड हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु