क्यानडा – ओन्टारियो प्रान्तस्थित ह्यामिल्टन सहरमा भएको गोलीकाण्डमा २१ वर्षीया भारतीय विद्यार्थी हरसिमरत रन्धावाको मृत्यु भएको छ। टोरन्टोस्थित भारतीय महावाणिज्य दूतावासले यो घटनाबारे जानकारी दिँदै गहिरो दुख व्यक्त गरेको छ।
बुधबार स्थानीय समयअनुसार बेलुका ७:३० बजे ह्यामिल्टनको अपर जेम्स सडक र साउथ बेन्ड रोड नजिक गोलीकाण्ड भएको थियाे। हरसिमरत मोहक कलेजमा अध्ययनरत थिइन्। साे दिन उनी काममा जानका लागि बसको प्रतीक्षा गरिरहेकी थिइन्। त्यही बेला दुई समूहबीच भएको गोली हानाहानमा एक गोली उनको छातीमा लाग्यो। ह्यामिल्टन प्रहरीले सिसिटिभी फुटेजको आधारमा यो घटनालाई दुई समूह (ग्याङ) सम्बन्धित गोलीकाण्डको रूपमा अनुसन्धान गरिरहेको उल्लेख गरेको छ।
टोरन्टोस्थित भारतीय महावाणिज्य दूतावासले एक्समा भनेको छ, ‘हामी ह्यामिल्टन, ओन्टारियोमा भारतीय विद्यार्थी हरसिमरत रन्धावाको दुखद मृत्युबाट अत्यन्त दुखी छौं। स्थानीय प्रहरीका अनुसार, उनी निर्दोष पीडित थिइन्, जो दुई सवारी साधनबीच भएको गोलीकाण्डमा परिन्। हामी उनको परिवारसँग नजिकको सम्पर्कमा छौं, आवश्यक सबै सहयोग प्रदान गरिरहेका छौँ।’
ह्यामिल्टन प्रहरीले यो हत्याको अनुसन्धान जारी राखेको जनाएको छ। संदिग्धहरूको खोजीमा जुटेको प्रहरीले स्थानीय बासिन्दाहरूसँग कुनै पनि सिसिटिभी फुटेज वा भिडियो रेकर्डिङ भए साझा गर्न अपिल गरेको छ। घटनास्थलमा पुग्दा प्रहरीले हरसिमरतलाई गम्भीर घाइते अवस्थामा फेला पारे पनि बचाउन सकिएन्। भारतीय महावाणिज्य दूतावासले परिवारलाई कानुनी र अन्य आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि जनाएको छ।


