चितवन – भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित आँपटारीमा श्री सिद्धेश्वरधाम निर्माण गरिएको छ । जलदेवी सामुदायिक वनको करिब ५ कठ्ठा जग्गालाई धार्मिक प्रयोजनको लागि सम्झौता गरी निजी लगानीमा भरतपुर २ घर भएका समाजसेवी केशवराज कँडेलले श्री सिद्धेश्वरधाम निर्माण गरेका हुन् ।
कडेलले लाखौं रकम खर्च गरेर निर्माण गरेको सिद्धेश्वरधाममा १२ फिट अग्लो शिवलिङ्ग, शिवबाहन नन्दी (बसाहा), सूर्य, बिष्णु, गणेश, सरस्वती, सन्तोषी माता, महाकाली र हनुमानका प्रतिमा स्थापना गरेका छन् भने यज्ञशाला, कार्यालय कक्ष, पूजारि निवास लगायत भौतिक संरचनाको निर्माण समेत गरेका छन् ।
आफुलाई शिव भगवानप्रति बढी आस्था भएको र सामाजिक कार्यमा त्यसमा पनि धार्मिक सेवा गर्नु उपयुक्त ठानेर सो मन्दिर निर्माण गरेको कँडेलले बताए । २०७६ सालदेखि धाम निर्माण गर्ने सम्झौता भएको बताउँदै कोभिड जस्ता विभिन्न कारणले निर्माणमा ढिलाई भएको उनले बताए ।

जलदेवी सामुदायिक वन उपभोक्ता समूहको रेखदेखमा रहने यस धामलाई शङ्कराचार्य परम्परानुरूप श्रीहरिहर सन्न्यास आश्रम देवघाटधामको धार्मिक संरक्षकत्व प्राप्त गर्ने गरी केशवराज/ लक्ष्मी कँडेल एवं छोरा/नातिहरूको (वंशपरम्परा) को संरक्षकत्वमा समितिको गठन र सञ्चालन हरिहर पूजाविधि अनुसार नित्य पूजाको व्यवस्था मिलाई प्राणप्रतिष्ठा गरिने उनले जानाकारी दिए ।
सिद्धेश्वरधाम यही बैशाख ६ गते (शनिबार) श्री हरिहर सन्न्यास आश्रम देवघाटधामका पीठाधीश नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको करकमलबाट अनावरण हुने उनले बताए ।
जलदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष माधव देवकोटाले सामुदायिक वन भित्र रहेको हस्तान्तरण भएको जग्गा मध्यबाट जति जग्गा छ, त्यसबाट ५ प्रतिशत पर्यापर्यटनका लागि विकास गर्ने वन नियमावली अनुसार सो धाम निर्माण थालिएको बताए ।
देवघाटको पनि नजिक बागेश्वरीको पनि नजिक भएकाले यहाँ धार्मिक पर्यटन हुन्छ भन्ने उदेश्यले शिवको धाम स्थापना गर्ने सल्लाह अनुसार २०७३ सालमा मन्दिर निर्माण गर्ने दातासँग सम्झौता गरेको उनले बताए । यसले पर्यापर्यटनका हिसाबले जलदेवी सामुदायिक वनलाई महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाटले सिद्धेश्वरधाम निर्माणमा आफ्नो वडाले पनि समन्वय गर्दै आएको बताए । सिद्धेश्वरधाम पर्यटकिय क्षेत्रको रुपमा पनि विकास हुने उनले विश्वास व्यक्त गरे ।



