काठमाडौँ — प्रख्यात पप गायिका केटी पेरीसहित पाँचजना महिलाहरू अन्तरिक्षको भ्रमण सकेर पृथ्वीमा फर्किएका छन् । अर्बपति जेफ बेजसको कम्पनी ब्लु अरिजिनले बनाएको न्यु सेफर्ड रकेटमार्फत उनीहरू पर्यटकका रूपमा अन्तरिक्षमा गएका थिए ।
अन्तरिक्ष भ्रमणमा निस्किनेमध्ये पेरीसहित बेजसकी हुनेवाला श्रीमती लरेन सान्चेज, टेलिभिजन प्रस्तोता गेल किङ, नासाकी पूर्वकर्मचारी आयसा बोवी, नागरिक अधिकारकर्मी अमान्डा नुयेन र फिल्म निर्माता किरियान फ्लिन थिए ।
जम्मा ११ मिनेट लामो उडानको टिकट मूल्य स्पष्ट नखुलाए पनि १ लाख ५० हजार डलर अर्थात हालको विनिमय दरअनुसार करिब २ करोड नेपाली रुपैयाँ रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । यसमा यात्रुहरूले पृथ्वीको आधा चक्कर लगाएका थिए । महिलाहरूको यो टोली पृथ्वीको सतहभन्दा १ सय किलोमिटर माथि, ‘कर्मन लाइन’ भनिने वायुमण्डलको आखिरी तह र बाह्य अन्तरिक्ष शुरु हुने स्थानभन्दा केही माथिसम्म पुगेका थिए ।
त्यस क्रममा उनीहरूले केहीबेर भारशून्य (वेटलेसनेस) महसुस गरेको प्रतिकृया दिएका छन् । यानभित्र हावामा झैँ तैरिएको र पृथ्वीको आधा गोलाइसँगै अन्तरिक्षको अँध्यारोसमेत अवलोकन गर्न पाएको उनीहरूले बताएका छन् । अन्तरिक्ष यात्रामा डेजी फुल बोकेर गएकी गायिका पेरीले ‘ह्वाट अ वन्डरफुल वर्ल्ड’ बोलको गीतसमेत गाएकी थिइन् । वैज्ञानिक बोवीले वनस्पती विज्ञान र मानव शरीरसँग सम्बन्धित तीनवटा अनुसन्धान गर्न भ्याइन् ।
पश्चिमी टेक्ससको मरुभूमिबाट बिहान ९ बजे उडेका उनीहरू १० बजेर ५ मिनेटमा पुन : त्यहीँ अवतरण गरेका थिए । ब्लु अरिजिनले अन्तरिक्षमा पर्यटक पठाएको यो ११ औँ उडान थियो । पृथ्वीमा फर्किएपछि पेरीले जमिनमा घोप्टिएर चुम्बन गर्दै डेजी फुल उडाएकी थिइन् । डेजी उनको छोरीको नामसमेत भएको बीबीसीले खुलाएको छ ।
‘महिला यात्रुहरू मात्रै सम्मिलित यस्तो अन्तरिक्ष यात्रा यसअघि ६० वर्षअघि भएको थियो,’ बीबीसीको समाचारमा भनिएको छ, ‘त्यो बेला सोभियत कस्मोटन (अन्तरिक्षयात्री) भ्यालेन्टिना तेरेस्कोवस्की एक्लैले अन्तरिक्ष यात्रा गरेकी थिइन् । अन्तरिक्षको एकल यात्रा गर्ने उनी पहिलो महिला पनि हुन् ।’ उनी वस्तक ६ नामक यानमार्फत अन्तरिक्षमा गएकी थिइन् ।
पछिल्लो समय अन्तरिक्ष पर्यटनको अवधारणा विकास हुने क्रममा छ । इन्डियन एक्सप्रेसका अनुसार २०२३ मा अन्तरिक्ष पर्यटनको बजार ८४८.२८ अर्ब डलर थियो । २०३२ सम्ममा यो बढेर २७,८६१.९९ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । सन् २००१ देखि २०२२ सम्म करिब ६३ जना व्यक्तीलाई अन्तरिक्ष पर्यटकका रूपमा गणना गरिएको छ । स्पेस एक्स, ब्लु अरिजिन, भर्जिन ग्यालेक्टिकलगायत कम्पनीहरूले यस्तो साहसिक पर्यटनअन्तर्यत यस्तो नयाँ सुविधा प्रदान गर्दै आएका छन् ।


