चितवन – लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘आर’ नेपालका नवनिर्वाचित पदाधिकारीलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मंगलबार आफ्नो कार्यकक्षमा स्वागत गरेकी छन् ।
मेयर दाहालले लायन्स डिष्ट्रिक्ट ३२५ ‘आर’ नेपालको गत चैत ३० गते सौराहामा सम्पन्न तेस्रो महाधिवेशनबाट सन् २०२५–२०२६ का लागि निर्विरोध निर्वाचित डिष्ट्रिक्ट गभर्नर नवराज सापकोटा, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर प्रभाकर पण्डित, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर दीपेन्द्र खतिवडा ट्रेजरर बिकास पौडेल लगायतलाई रातो खादा लगाइदिएर न्यानो स्वागत गरेकी हुन् ।
भरतपुर महानगरको मेयरमा आफ्नो पहिलो कार्यकाल र अहिलेको दोस्रो कार्यकालमा लायन्स क्लबसँग मिलेर धेरै कामहरु भइरहेको मेयर दाहालले बताइन् । उनले पुलचोक–गोन्द्राङ ६ लेन सडक बिस्तारका लागि लायन्सचोकमा रहेको लायन्स भवन भत्काउनु परेको बताउँदै त्यस ठाउँमा इतिहासलाई मर्न नदिने गरी लायन्स प्रतीक्षालय बनाउने योजना रहेको जानकारी दिइन् ।
‘
अब भरतपुरलाई सौन्दर्यकरण गर्ने दिशामा हामी अगाडि बढ्दैछौँ । सडक छेउमा हरियाली बनाउनु पर्नेछ’ मेयर दाहालले भनिन्, ‘सार्वजनिक शौचालयहरु, यात्रु प्रतीक्षालयहरु पनि बनाउनु पर्नेछ । यी सबै काममा लायन्स क्लबसँग विगतमा जस्तै सहकार्य हुनेछ ।’
नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर नवराज सापकोटाले कोभिडको बेलामा लायन्स क्लबले हाइमास्ट अक्सिजन फ्लो मेसिन र खाद्यान्न सहयोग गरिएको स्मरण गराए । उनले त्यति बेला ज्यान गुमाउनेहरुको अन्त्येष्टिमा सहायता पुगोस् भनी शववाहनको व्यवस्था गरिएको र भरतपुर अस्पतालमा मिर्गौला डायलासिसको छुट्टै युनिट स्थापना गरिएको सम्झना दिलाए ।


डिष्ट्रिक्ट गभर्नर सापकोटाले आगामी दिनमा पुलचोक–गोन्द्राङ ६ लेन सडकमा आधुनिक यात्रु प्रतीक्षालयका साथै हरियाली कायम राख्ने कुरा र बगैँचा निर्माणमा सहकार्य गर्न सकिने बताए । ‘महिला र युवाको क्षमता अभिवृद्धि एवं सशक्तिकरणमा सहयोग गर्न सकिन्छ’ उनले भने, ‘भरतपुर महानगरभित्र संचालित विद्यालयहरुमा अध्ययनरत सीमान्तकृत विद्यार्थीहरुलाई आवश्यक सहयोग गर्न हामी तयार छौँ ।’