चीन – अमेरिकासँग बढ्दो व्यापार युद्धकाबीच चीनले विशेष धातु र दुर्लभ प्रकृतिका खनिज र चुम्बकोको निर्यात तत्कालका लागि रोकेको छ ।
रकेटदेखि मिसाइलसम्मका हतियार बनाउन, कार कम्पनी, एयरोस्पेस निर्माता र सेमिकन्डक्टर उत्पादनमा अत्यावश्यक धातु र दुर्लभ खनिजहरूको निर्यात तत्कालका लागि रोकिएको हो ।
अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार चीनले त्यस्ता धातु र खनिज पदार्थ निर्यात गर्न रोक लगाएपछि पानीजहाजहरू अहिले चीनको विभिन्न बन्दरगाहमा रोकिएर बसेका छन् । त्यस्ता सामग्री निर्यात नियमनका लागि नयाँ नीति मस्यौदा भइरहेकाले तत्कालका लागि निर्यात रोकेको बताइएको छ ।
चीनले त्यस्ता धातु र खनिज ठूलो मात्रामा अमेरिका निर्यात गर्छ । अमेरिकी राष्ट्रपति ट्रम्पले अन्य देशलाई पारस्परिक भन्सार ९० दिनका लागि रोके पनि चीनका लागि भने लगातार बढाएर १४५ प्रतिशत पुर्याएका छन् ।
चीनको उक्त कदममा अमेरिकाको पारस्परिक भन्सार नीति कारक मानिएको छ । चीनले सात किसिमका खनिजहरू अप्रिल ४ देखि निर्यातमा रोक लगाएको थियो ।

