साहित्यलाई सन्चै छ !

एटुजेड समाचार

वर्ष २०८१ को भीमकाय पुस्तक सावित भयो, ‘का. जलजला’ । पुराना कम्युनिस्ट नेता मोहनविक्रम सिंहकृत यो (महा) उपन्यासले विषय वा शिल्पभन्दा पनि पृष्ठसंख्या (१,३२०) गन्तीका आधारमा चर्चा बटुल्यो । यसका प्रशंसकले ९२ वर्षीय नेताको २३ वर्ष दीर्घसाधनाका रूपमा तात्तातो खबर फिँजाए । पाँच सयभन्दा बढी पात्र र पाँच लाख शब्दको बखान गरे ।

हो, यसमा पक्कै धेरै पाना छन् । तर हाम्रै प्राचीन हस्तलिखित ग्रन्थ ‘चन्द्रनिघण्टु’ (१,९१८) वा गिनिज वर्ल्ड रेकर्डस्मा नाम लेखाउने ‘श्री हरिचरित्रमुरुत सागर’ (४,०४२) जत्रो पर्वतकाय पुस्तक होइन । लियो टल्सटायको उपन्यास ‘वार एन्ड पिस’ (१२९६) भन्दा केही बढी पृष्ठ छन् । तर, पृष्ठ नम्बर ६५८ देखि ६७० सम्म फर्माइसकेको कथा ७८९ देखि ८०० सम्म नदोहोरिएको भए हाराहारी नै हुन सक्थ्यो वा आवश्यक सम्पादन गरेको भए अलिक कम पनि हुन सक्थ्यो ।

आखिर साहित्य न शब्दगणना हो, न त पृष्ठगणना । न पात्रगणना हो, न त उमेरगणना । यसले थोरै शब्दमा सही, रचनाधर्मिताका कारण कालजयी हुने सामर्थ्य राख्न सक्छ । यद्यपि वृद्धावस्थाको बावजुद सिंहको उपन्यासतिर फैलिने सत्प्रयासको सराहना गर्नैपर्छ । तर, पुस्तकको गुणवत्तामा पाठकको प्रश्नचिह्न अद्यापि छन् ।

त्यसो त नेपालको वामपन्थी वृत्तमा साहित्य र प्रोपगान्डाबीच सीमारेखा राखिँदैन । उपन्यास र इतिहासबीच फरक खोज्ने धृष्टता गरिँदैन । उपन्यास भनिसकेपछि के वास्तविक, के काल्पनिक ? तर, हाम्रा जानेमाने लेखक, बौद्धिक, दार्शनिक उपन्यासको ‘फ्याक्ट चेक’ गरेर बसिरहेको देख्दा धिक्कार लाग्छ । धन्य हो, वयोवृद्ध नेता सिंहले सम्भवतः पहिलो पटक आलोचकहरूलाई धन्यवाद दिए र आफ्नो त्रुटि वा कमजोरी स्विकारे ।

वर्ष २०८१ को अर्को चर्चित पुस्तक रह्यो, ‘अश्र’ । काठमाडौंका महामेयर बालेन शाहले फेसबुकमा आफ्नो जन्मदिन पारेर पहिलो कवितासंग्रह सुटुक्क सार्वजनिक गरे । तर, न औपचारिक विमोचन भयो, न अन्तर्क्रिया भयो, न त देश दौडाहा । तर यसले बिक्रीमा बेग्लै मानक बनायो ।

मोतीराम भट्टको पालामा कविताका किताब बढीमा एक हजार प्रति मुद्रण हुन्थ्यो, अहिले बालेनको पालामा पनि त्यही एक हजार प्रति बिक्री भए ‘बेस्ट सेलर’ को छाप लाग्छ । बालेनलाई कवि मान्ने कि नमान्ने, आफ्नो ठाउँमा छ । तर, उनको किताबको बिक्री १० कविको किताब बराबर हुन जानुले के देखाउँछ भने बालेनलाई जेन–जी पुस्ताले पत्यायो । अब जेन–जी पुस्तालाई बेवास्ता गरेर किताबको बजार गर्माउन नसक्ने रहेछ ।

कतिपय अवस्थामा किताबका लागि लेखक आफैंले होहल्ला गर्नु पनि पर्दो रहेनछ । बालेनले आफ्नो कविताबारे कहीं केही बोलेनन् । तर, केही कवि मनहरूले उनको नाममा रुवावासी चलाए । झिल्के कवि भनेर सामाजिक सञ्जालमै खिसीटिउरी गरे । अझ भनौं, ३५ वर्षीय र्‍यापर, इन्जिनियर मेयरको कविता किताबको उल्टो प्रचार भयो र सेलिब्रिटी किताब बनिदियो ।

ज्योतिषशास्त्रीय भाषामा २०८१ कालयुक्त संवत्सर थियो । भविष्यफलमा सबै प्राणी सुखी हुने भने पनि त्यसलाई उछिने कवि–लेखकले । यस वर्ष कति पुस्तक निस्किए भन्ने हिसाब गर्न कठिन छ । चैतको थालनीमै प्रेस पसेका थुप्रै पुस्तक अझै बाहिर निस्किएका छैनन् । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले दिने आईएसबीएन (इन्टरनेसनल स्ट्यान्डर्ड बुक नम्बर) लिने एकथरी छन् भने अर्काथरी आईएसबीएनबापत रु. तीन सय शुल्क नतिरीकन पुस्तक निकाल्ने पनि छन् । मदन पुरस्कार गुठीमा बुझ्नलाई पुस्तक बुझाउने म्याद वैशाख १५ सम्म छ । उसो त हामीकहाँ पुस्तकको आधिकारिक तथ्यांक राख्ने कुनै निकाय छैन । तर, निर्धक्क के भन्न सकिन्छ, देशको अर्थतन्त्रलाई सन्चो नभए पनि हाम्रा लेखक, कविले किताबी दौडमा कुनै कञ्जुस्याइँ गरेनन् । नाजुक अर्थतन्त्र, बढ्दो आप्रवासन, प्रविधि र यन्त्रीकरणको मार बिक्री वितरणमा परेको होला, तर पुस्तकको प्रकाशनमा त्यसको छाया परेको छैन ।

कुराकानी थालौं, आख्यानबाट । वर्ष २०८१ मा नेपाली आख्यानको नवीनता भनेको बुद्धम् शरणम् गच्छामि हो । बुद्धकथा, बुद्धविचार, बुद्धदर्शन, बुद्धशिक्षामा आधारित आख्यानले पाठकको धेरथोर ध्यानाकर्षण गराएका छन् । यसो भन्दैमा नेपाली साहित्यले महाभारतीय कथा र पात्रहरूको पछुवा सवारी छाडिसक्यो भन्ने निर्क्योलमा पुग्न सकिँदैन । नेपाली आख्यानले बिहानी कोल्टे फेर्न खोजेको दृष्टान्त भने दिएको छ । यस वर्ष उपन्यास धेरै आएनन् । तर जति आए, तिनमा पठनीयता जरुर छ । गत वर्ष कृष्ण गौतमकृत दार्शनिक उपन्यास ‘अद्वैत’ ले पद्मश्री जितेको हुनाले बढ्ने अनुमान भने मिलेन । यस वर्ष कतिपय उपन्यासमा सुन्दर आञ्चलिक प्रयोग भएका छन् । कतिपयमा जादुयी यथार्थ र स्वैरकल्पनाको उचाइ छ । जातीय इतिहास उत्खनन भएका छन् । फरक विषय र परिवेशका कारण ‘स्व’, ‘सिमसारा’, ‘उरमाल’, ‘सावर्णि’, ‘हिउँको गीत’, ‘अर्हत्’, ‘अहिल्या’ आदि उपन्यास चर्चामा रहे । कथातर्फ ‘एउटा मायी नगरमा’, ‘सम्मोहन’, ‘बहुरूपी’ ‘दृश्य प्रलेख’, ‘अभ्यन्तर’ आदि पनि पाठकीय रोजाइमा छन् ।

त्यसो त हिजोआज कतिपय आख्यानमा बौद्धिकता, दार्शनिकता र चिन्तनको अनुपस्थिति निकै खट्कन्छ । आख्यान भनेको घटनाको बिस्कुन मात्रै होइन, लेखकीय दृष्टिकोण, विचार र दर्शन पनि हो । सुक्ति र मुक्तावलीले नै हो पाठकलाई घोत्लिन लगाउने । खोजीखोजी पढ्ने भनेको निम्सरो खुराकी होइन, सिद्धहस्त साहित्य हो । त्यसैले फगत आत्मविलासको बाटो छाडेको जाती ।

सुखद के हो भने यस वर्ष पनि नयाँ, पुराना कविहरूको उत्साह घटेन । पुराना कवि दिनेश अधिकारी, विप्लव प्रतीकदेखि हेमप्रभाससम्म कविताको हरियो चौतारीमा भेटिए । त्यसैगरी लीला अनमोल, सुरज राना, सकुन आँसु, यश लामा आदि कविताकृति लिएर आए । तिनको काव्यबिम्बमा पाठकले विश्वास पनि गरे ।

हाम्रो कविताको लामो र समृद्ध परम्परामा कविहरूको साधना स्तुत्य छ । तर, कतिपय कमसल कविताले असल कवितालाई छायामा पारिदिएको पनि सत्य हो । कविता भनेको फगत संरचना हो भन्ने जमातका कारण यसको विधागत सौन्दर्य र अनुशासन निरन्तर खुम्चँदो छ । आम कविका अभिव्यक्ति अग्निमय लाग्छन् । यस्तो लाग्छ, कविहृदय जलेको छ । टुकीको खोजीमा रहेको बिचरो पाठक ज्वालामुखीको जलनमा परिरहेको छ ।

चर्चा हुनु एउटा कुरा हो, राम्रो हुनु अर्को कुरा हो । कतिपय कवि–लेखक चुपचाप आफ्नो कविकर्म गरिरहेका छन् । तिनकै कारण महाकाव्य भूतपूर्व विधा बनेको छैन । गोरखाको सहिद लखन गाउँपालिका–२ बनौतीका नारायणप्रसाद पोखरेलले कवि भुवनहरि सिग्देललाई काव्यनायक बनाएर लेखेको महाकाव्य ‘गोवर्द्धन’ यहाँनेर उल्लेखनीय छ । छन्दकविको यो उत्साहलाई धाप दिनु समीक्षक, सम्पादकको पनि कर्तव्य हो ।

अध्येताको अनुभवमा कोरोना महामारीपछि पाठकको ध्यान गैराख्यानतिर ढल्केको छ । इतिहास, भूगोल, संस्कृतिउन्मुख पुस्तकको बिक्री क्रमशः उकालो लाग्दो छ । मदन पुरस्कार विजेता पुस्तक भएकाले ‘मुकाम रणमैदान’ को बिक्री सर्वाधिक हुनु नौलो घटना होइन । स्तरीय गैराख्यानले पनि पाठकको ध्यानाकर्षण गराउन सक्छ भन्ने दृष्टान्त महेशराज पन्तको ‘पृथ्वीनारायण शाह’, रमेश भुसालको ‘छालबाटो’, सुरेश ढकालको ‘इतिहासभित्रको इतिहास’ आदि पुस्तकले दिएका छन् । फरकफरक विधाका लेखक र कृति भए मात्रै भाषा, साहित्य र वाङ्मय समुन्नत हुन्छ । गैराख्यानमध्ये निबन्ध विधामा पुस्तक बढेका छन् । तर, हामीकहाँ बौद्धिकस्तरका निबन्ध कमै आउँछन् । राजनीतिक लेख, यात्रा, नियात्रा, व्यक्तिचित्र, आत्मकथा, डायरी आदि पनि निबन्धका हाँगाबिँगा हुन् । यस वर्ष ‘सम्झुँ कि बिर्सुं’ं, ‘दर्ज्यु संलाप’, ‘अक्षत अन्टार्कटिका’ आदि निबन्धकृतिले बहुप्रशंसा बटुले ।

उदेकलाग्दो प्रसंग के भने सिर्जनाको धाईआमा बन्ने ल्याकत राख्ने समालोचना भने यस वर्ष पनि सबभन्दा दुर्बल विधा बन्यो । अमूक व्यक्तिले विश्वविद्यालयीय डिग्री, बढुवा आदि व्यक्तिगत प्रयोजनका लागि पुस्तक निकाल्नु फरक पाटो हो, तर गर्व गर्न लायक समालोचना आएन । त्यसले सचेत पाठकको कमी बोध हुन्छ । स्तरहीन र कामचलाउ साहित्यको महिमामण्डन त्यसकै उपहार हो । एकोहोरो सुगा–गाना हुन्छ– राम्रो, राम्रो, राम्रो । गजब, गजब, गजब । समालोचकको अभावमा साहित्य भनेको सामान्य सूचना वा मनोरञ्जन लिनेभन्दा पनि पटकपटक रसास्वादन गर्न सामग्री हो भन्ने कुरा नै बुझाउन सकिएको छैन ।

हिजोआज मौलिक नाटक त नाकमुखै देख्न पाइन्न । रंगकर्मीहरू अनुवाद वा कथाको नाट्य रूपान्तरण गरेर काम चलाइरहेका छन् । यत्तिका नाटकघर हुँदा पनि नाटक लेख्ने हुटहुटी किन जन्मेन ? एउटा चल्तीको विधा नै हराउने अवस्था किन आयो ?

त्यसो त कवि–लेखकले केही लेखेका छैनन् भन्नु पनि अन्याय हुन्छ । नयाँ लेखक धेरै भएकाले पुरानै राम्रा हुन् भन्ने पनि होइन । नयाँलाई हम्मेसी स्वागत गर्ने चलन हामीकहाँ छैन । त्यसले पनि साहित्यिक वातावरणमा फरक पार्न सक्छ । तिनले नेपाली समाजको विशिष्ट परम्परा, इतिहास, संस्कृति, सभ्यता, पर्यावरण, संस्कार आदि आख्यान, गैरआख्यान र काव्यमा अभिव्यक्त गरिरहेका छन् । नेपाली शब्दभण्डारमा नयाँ, नौला, नवीन शब्द थपिएका छन् । आज गाउँ र सहर, स्वदेश र परदेश, स्थानीय र वैश्विक पाटो उघारिएका छन् । त्यसमा शिल्प पक्ष अपुगजस्तो लागे पनि त्यो जागरुकता सलामयोग्य नै छ । हुन त साहित्यको विशिष्ट भाव स्वान्तः सुखाय नै हो । हरेक कला खुसीको खोजी हो । आफैंलाई सुखमा राख्न खोज्नु नराम्रो पनि होइन । तर, आत्मश्लाघाले समाजलाई पिरोलिरहेको छ । कतिपय अञ्जुलीमा केही थोपा पानी उठाउँदा समुद्रै उठाएको भ्रममा परेका छन् । कतिपयले एक मुठी माटो उचाल्दा धरती नै उचालेको स्वाङ रचेका छन् । कतिपयले अलिकति अक्सिजन पाउनासाथ फोक्सोमा सिंगै वायुमण्डल भित्र्याएजस्तो हल्ला गरेका छन् । कतिपयले प्रायोजित प्रशंसा गराएर भए पनि उम्दा साहित्यको सेखी झारेका छन् ।

साहित्यमा पाठकीय विरक्ति आउनुको अप्रिय कारण यति मात्र होइन । तर, यति सानो देशमा हजारौं कवि–लेखक हुनु बाँकी विश्वलाई विस्मित पार्ने खालको छ । पाठक भइनसक्दै लेखकका रूपमा उदाउने, खादा, माला, टीका लगाउने र ‘म ठूलो मान्छे भएँ’ भन्ठान्ने अपसंस्कृति बढ्दो छ । कसैले फुटकर कविता वा खुद्रा लेखरचना छाप्नु/छपाउनु बेग्लै हो, तर किताब छाप्नु भनेको अलि जिम्मेवार काम हो भनेर बुझाइदिने कसले ?

यस वर्ष पुरस्कारहरू त्यस्तो उत्पात विवादमा परेनन् । केही लेखक पुरस्कारै पुरस्कारले पुरिए, अर्काथरीलाई पुरस्कारले चिन्दै चिनेन । एकाधबाहेक प्रायः धाउनेले नै पुरस्कार पाउने अवस्था छ । त्यो पनि पुरस्कार पाउनेले नै पाइरहने । सरकारी पुरस्कारमा दलका कार्यकर्ताले कब्जा जमाए भने निजी क्षेत्रका पुरस्कारमा पारदर्शिताको अभाव छ । त्यो शृंखला कहिले पनि रोकिने छैन ।

यस वर्ष साहित्य अनुवादतर्फ देखिने गरी त्यस्तो गतिला काम भएनन् । तर, धेरै ठाउँमा साहित्य महोत्सव नामका ‘कमेडी’ भएका खबर आइरहे । नाम महोत्सव भए पनि त्यो मामुली साहित्यिक भेला वा गोष्ठीभन्दा बढीको हैसियत देखिएन । विषय ऐजन, वक्ता ऐजन भएपछि त्यसको शक्ति सीमित हुने भइहाल्यो । प्रायोजित र विद्रुप प्रहसन छाडेर अब साहित्य महोत्सवकै समीक्षा गर्ने बेला भयो । वास्तवमा साहित्य महोत्सवका नाममा हामीले गर्न खोजेको के हो ?

थुप्रै साहित्य महोत्सव मौसमी छन्, निरन्तरता छैन । ब्रान्डिङबिनाका साहित्य महोत्सव फगत कर्मकाण्ड हुन् । हरेक पालिकाले ‘हामीले पनि साहित्य महोत्सव गर्‍यौं’ भन्नु एउटा कुरा हो । तर, त्यसरी पालिकापिच्छे कनिका जसरी स्रोत, साधन खर्च गर्नुको अर्थ के हुन्छ ? बरु त्यसलाई मर्यादित र प्रभावकारी बनाउन प्रदेशस्तरीय महोत्सव गर्दा महत्त्व बढ्न सक्छ । अहिलेलाई बाहिरी देशका मानिस यहाँको महोत्सव हेर्न आउनु स्वैरकल्पना मात्रै हो, कम्तीमा यहाँकै मानिस हेर्न, सुन्न वा साहित्याटन गर्न आउने वातावरण बनाउन सके लाख हुन्छ ।

साहित्य बचाउने साहित्यकारले मात्रै होइन, साहित्यको पाठकले पनि हो । बजारलाई टेकोपुडो दिनका लागि नेपाली साहित्यको अँगालो अलि फराकिलो बनाउनु आवश्यक हुन्छ । आज हामीले फलाकिरहेको नेपाली साहित्यलाई निकै साँघुरो वा संकुचित पारिएको छ । वास्तवमा यो नेपालभित्रको नेपाली भाषाको साहित्य वा काठमाडौंमुखी साहित्य मात्र हो । त्यसका लागि नेपालबाहिरको नेपाली साहित्य (भारतीय नेपाली साहित्यसमेत) र नेपाली मातृभाषालाई पनि नेपाली साहित्यमै समेट्नुपर्छ अनि मात्र हाम्रो साहित्य आफ्नो ताकतमा बाँच्न सक्छ ।

युगको प्रतिनिधित्व गर्ने लेखक जहाँसुकै थोरै हुन्छन् । त्यस्ता विरलाकोटि लेखकले विषयवस्तु, भाषा, शिल्प र कथोपकथनमा प्रयोग र आविष्कार गरिरहेका छन् । सिंगो साहित्यिक परिदृश्यलाई उज्यालो पारेकै तिनीहरूले हो । खासमा साहित्य धेरै चाहिने होइन, राम्रो साहित्य चाहिने हो । रहरे र खहरेलाई झरना मान्न कोही पनि अभिशप्त छैन । साँच्चै भन्ने हो भने हामीले किताबको यति धेरै चाङ लगाइसक्यौं, अब हामीले आत्ममन्थन गर्नुपर्ने हुन्छ, हामीलाई यति धेरै लेखक वा पुस्तक चाहिन्छन् कि चाहिँदैनन् ? तिनमा चाहिने कुरा लेखिएको छ कि नचाहिने ? पढ्नुपर्ने हो कि पढ्नु नपर्ने ? के हरेक साक्षर नेपाली लेखक हुन सक्छन् ?

आज नेपाली साहित्यले उपन्यासमा नयाँ धारको खोजी मात्रै गरेको छैन, नयाँ शैलीको आह्वान पनि गरेको छ । तर, लेखकहरूले ‘कम्फोर्ट जोन’ छाड्नै सकेका छैनन् । त्यसैले कतिपय नाम चलेका र आशालाग्दा लेखक आफूलाई पेन्सन खुवाउने किताब नलेखी आफ्नै सक्कलको नक्कल उतार्नमा लागिपरेका छन् । यो नै तीतो यथार्थ हो ।

यस्ता विषय पढिन्छन्, बिक्री हुन्छन् वा पुरस्कृत हुन्छन् भन्ने मनगणन्ते हिसाब गर्दा साहित्यमा एकखाले गतिहीनता छाउँछ । लेखक पाठकको पछुवा हुने हो कि पाठकलाई पछुवा बनाउने हो भन्ने एउटा गम्भीर सवाल उठेको छ । लेखकदीर्घाले कमसेकम यति आत्मविश्वास त राख्नैपर्छ– साहित्य त अहिलेका पाठकका लागि मात्र होइन, भोलि जन्मने पाठकका लागि समेत हो ।

(आज प्रकाशित कान्तिपुर दैनिकको कोसेलीमा राजकुमार बानियाँले यो साहित्य समीक्षा लेखेका हुन् ।)

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू