सुर्खेतमै थन्किए कर्णालीका पाठ्यपुस्तक

एटुजेड समाचार

सुर्खेत, धनगढी – स्थानीय तहले रकम निकासा नगरिदिँदा कर्णालीका अधिकांश विद्यालयमा नयाँ पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक बिक्रीवितरणका लागि सूचीकरण गरिएका अधिकांश पसलका सञ्चालक पाठ्यपुस्तक लिनै नआएको जनक शिक्षा सामग्री केन्द्र प्रदेश कार्यालयले जनाएको छ ।

केन्द्रले हुम्ला र मुगुका पुस्तक व्यवसायीलाई कक्षा ५ देखि १० सम्मका पाठ्यपुस्तक लिनका लागि चैत दोस्रो साता सूचना निकालेको थियो । हुम्लाका केही व्यवसायीले मात्र पाठ्यपुस्तक खरिद गरेर लगे, मुगुबाट भने कोही पनि सम्पर्कमा आएनन् । जाजरकोटका लागि चैत तेस्रो साता सूचना जारी गरिएकामा त्यहाँबाट पनि व्यवसायी सम्पर्कमा आएका छैनन् ।

कालीकोट, डोल्पा र जुम्लामा करिब १५ सय सेट मात्र किताब लगिएको छ । ती जिल्लामा ३ हजारदेखि ५ हजार सेट किताब चाहिने अनुमान छ । केन्द्रका प्रादेशिक प्रमुख भैरवबाबु पन्तका अनुसार आगामी शैक्षिक सत्रका लागि सुर्खेतबाट २५ हजार सेट किताब वितरणको लक्ष्य राखिएकामा ८ हजार सेट मात्र किताब विक्रेताले लगेका छन् ।

‘विक्रेता नै नआउँदा किताब सुर्खेतमै थन्किएको छ, केन्द्रबाट किताब किनेका विक्रेताले पनि जिल्लामा लैजान सुरु गरेका छैनन्,’ उनले भने । केन्द्रले प्रदेशभरि पाठ्यपुस्तक वितरण गर्न ८९ पुस्तक पसललाई सूचीकरण गरेको छ । अहिलेसम्म १०/१२ पुस्तक पसल मात्र खरिद गर्न आएको केन्द्रले जनाएको छ ।

सुर्खेतस्थित नवीन बुक्स एन्ड स्टेसनरीका प्रोप्राइटर चेतन कँडेलले स्थानीय तहमार्फत विद्यालय हुँदै आफूहरूले रकम पाएपछि जनक शिक्षाबाट किताब लिने गरेको बताए । ‘स्थानीय तहहरूले विद्यालयलाई पैसा दिएका छैनन्, विद्यालयले हामीलाई विद्यार्थीको तथ्यांकसहित रकम दिए मात्र किताब लिन सहज हुन्छ,’ उनले भने, ‘लगानी डुब्न सक्ने भएकाले हामीले आफैं लगानी गरेर किताब ल्याउन सक्दैनौं । तर किताबको दोषजति हामी व्यवसायीलाई मात्र दिने गरिएको छ ।’

कालीकोटका पुस्तक व्यवसायी अमर पाण्डेले विद्यालयले रकम नदिँदासम्म किताब किन्न नसकिने बताए । सुर्खेतमा पञ्चपुरी र लेकबेंसी नगरपालिकाले मात्र पाठ्यपुस्तकको रकम विद्यालयलाई निकासा दिएका छन् भने हुम्लामा सर्केघाट र सिमकोटमा मात्र रकम गएको छ । जुम्लामा कुनै पनि स्थानीय तहले पाठ्यपुस्तकको रकम निकासा नगरेको जुम्लाको कुडारीस्थित दीपकैलाश स्टेसनरीका प्रोप्राइटर दिनेश बुढाले बताए । ‘पोहर जोखिम मोलेर ३ सय थानजति किताब लगियो तर विद्यालयले खरिद नै गरेनन्,’ उनले भने, ‘यो वर्ष पनि किताब थन्किने हो कि भन्ने चिन्ताले खरिद गर्न सकिएको छैन ।’

कर्णालीका ग्रामीण क्षेत्रका विद्यार्थीले वर्षौंदेखि पुरानो पुस्तक पढ्नुपर्ने बाध्यता रहेको जुम्लाको सिञ्जा गाउँपालिकास्थित भैरव माध्यमिक विद्यालयका शिक्षक कमल नेपालीले बताए । ‘एक त विद्यार्थी संख्याअनुसार पाठ्यपुस्तकको रकम आउँदैन, आए पनि १/२ महिना बितेपछि मात्र आउँछ,’ उनले भने, ‘पुस्तक समयमै नपुग्दा विद्यार्थी पुरानो किताबबाटै पढ्न गर्न बाध्य छन् ।’

हुम्लाको ताजाकोट गाउँपालिकास्थित बालकल्याण प्राथमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर शाहीका अनुसार गएको शैक्षिक सत्रमा विद्यालयमा झन्डै ५ सय विद्यार्थी भर्ना भएकामा करिब १ सय विद्यार्थीले पुराना पुस्तक प्रयोग गरेका थिए । ‘यो वर्ष पनि भर्ना अभियानका बेला पुस्तक आउने छाँटकाँट देखिएन,’ उनले भने । स्थानीय तहहरूले भने भर्ना अभियानकै बेला विद्यार्थीको हातमा किताब पुग्ने दाबी गर्दै आएका छन् । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले १/२ दिनभित्र विद्यालयको खातामा पैसा जाने बताए । ‘विद्यालयले पनि विक्रेतालाई रकम छिट्टै दिन्छन्,’ उनले भने, ‘ढिलोमा एक साताभित्र विद्यालयलाई किताब दिने गरी व्यवस्था मिलाउँछौं ।’ मुगुस्थित मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले पनि एक साताभित्र किताब पुर्‍याउने गरी व्यवसायीलाई ताकेता गरिरहेको बताए ।

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशकी निमित्त निर्देशक दीपा हमालले समयमै पाठ्यपुस्तक पुर्‍याउन आवश्यक पहल भइरहेको बताइन् । ‘यो वर्ष जनक शिक्षामा किताब पर्याप्त छ,’ उनले भनिन्, ‘स्थानीय तहले विद्यालयलाई समयमै पाठ्यपुस्तकको रकम निकासा नदिँदा पनि समस्या भएको देखियो, जसका कारण विद्यालयले पनि पुस्तक व्यवसायीलाई रकम दिन सकेका छैनन् । अबको एक साताभित्रै सबै विद्यालयमा पुस्तक वितरणको व्यवस्था मिलाउन आग्रह गरिरहेका छौं ।’

सुदूरपश्चिममा भर्नासँगै पुस्तक दिने तयारी

सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाका विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाउने विगतको समस्या आगामी शैक्षिक सत्रमा भने हट्ने भएको छ । जनक शिक्षाको प्रदेश कार्यालय धनगढीले आगामी शैक्षिक सत्रका लागि हिमाली र पहाडी जिल्लामा समयमै पाठ्यपुस्तक बिक्रीवितरण गरिसकेको जनाएको छ ।

जनक शिक्षाको प्रदेश कार्यालयका प्रमुख रामविनय श्रेष्ठले बाजुरा, दार्चुला, बझाङ, बैतडी र अछाममा आवश्यक सबै पाठ्यपुस्तक १७ चैतमै पठाएको जानकारी दिए । उनका अनुसार डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा पनि पुस्तक वितरण भइरहेको छ । हिमाली जिल्ला बाजुराको बूढीगंगा, बाह्रबिसस्थित सिर्जना स्टेसनरी एन्ड जनरल स्टोरका डम्बरबहादुर सिंहले आफूले जिम्मा लिएका २१ वटै विद्यालयमा पाठ्यपुस्तक वितरण गरिसकेको बताए । बाजुराकै बूढीनन्दा नगरपालिकामा जनक शिक्षाबाट पाठ्यपुस्तक वितरणको जिम्मेवारी लिएका रारा पुस्तक पसलका सञ्चालक सञ्जय रोकायाले अधिकांश विद्यालयमा पुस्तक वितरण गरिसकेको र केहीमा भइरहेको बताए । सुदूरपश्चिमभर सूचीकृत भएका १ सय ९४ विक्रेताले जनक शिक्षाबाट पुस्तक बिक्री गरिरहेका छन् ।

(कान्तिपुर दैनिकमा आज प्रकाशित यो समाचार कृष्णप्रसाद गौतम र अर्जुन शाहले लेखेका हुन् ।)

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू