पर्यासाहित्यमा चासो राख्नेहरूका लागि लोभलाग्दो मार्गदर्शन ‘पर्याप्रेमको गुञ्जन’

‘तैंले रुखसँग व्यवहार गर्दा
मसँग व्यवहार गरेजस्तै गर्नू !
तैंले नदीसँग व्यवहार गर्दा
तेरी आमासँग व्यवहार गरेजस्तै गर्नू !
र तैंले आकाश र धर्तीसँग व्यवहार गर्दा
तेरा बाजेबजै
र, तेरा छोराछोरीसँग जस्तै व्यवहार गर्नू !’

कवि कृष्ण बाउसेको ‘पर्याप्रेमको गुञ्जन’ शीर्षकको कविताको एउटा अंश हो यो। प्रथम गुरु आफ्नै पिताजीबाट पाएको यो सन्देशले उहाँमा एउटा उद्वेलन छोडेको रहेछ। परिणाम – उहाँ पर्याप्रेमको गीत गाउनुहुन्छ, त्यसैको आवाहन गर्नुहुन्छ । र, मान्छेलाई गज्जबले झक्झक्याउनुहुन्छ। त्यस्तै झक्झक्याइको एउटा सशक्त अभिलेख हो, पर्याकवितासङ्ग्रह ‘पर्याप्रेमको गुञ्जन’।

कविताभित्रकै एउटा विशिष्ट आयाम हो पर्याकविता। नेपालीमा फाट्टफुट्ट त धेरै लेखिए होला तर यही विधामा समर्पित भएर सिङ्गो कृति निकाल्ने स्रष्टा थोरै छन्। कवितामा तीसको दशकदेखि नै हलचल मच्चाउने कवि कृष्ण बाउसे पछिल्लो समय पर्यासाहित्यमा चुर्लुम्म डुब्नुभएको छ। त्यो डुबाइले हामीजस्ता धेरै पाठक लाभान्वित भएका छौं।

म कविता पढ्दा कोठामा एक्लै ठुल्ठुलो आवाज निकालेर पढ्छु। त्यो आवाज भित्तामा ठोक्किएर मतिरै प्रतिध्वनित हुन्छ झैं लाग्छ। र, त्यो प्रतिध्वनिले मलाई हल्लाउँछ। कविताको सन्देशले मलाई उफार्छ, पछार्छ, गलाउँछ र अन्ततः उत्साही बनाउँछ। कवि शिखर दुलालको सौजन्यमा ‘पर्याप्रेमको गुञ्जन’ भेट्नासाथ मैले त्यसै गरी पढें। पटकपटक उद्वेलित भएँ, हल्लिएँ।

मैले अनुभव गरेको अर्को कुरा– कृष्ण बाउसेका कविताका शीर्षक नै शक्तिशाली हुँदा रहेछन्। सुरुमा शीर्षकले नै जिज्ञासु बनाउँछन्। ‘मलाई आरक्षित गरिराख’, ‘परिवेशको जवानी’, ‘प्लास्टिकको घाँस’, डाइनोसरको भजन’, ‘उल्टो डुङ्गा खियाइरहेको माझी’, ‘विद्रोही हावाको चस्का’, ‘आत्मघातको भेलबाट’, ‘ब्ल्याकहोलको एजेन्ट’, ‘आत्महत्याको हिसाब’, ‘आशाको दुर्व्यसन’, ‘धुँवारानी’ जस्ता शीर्षकबाट को नतानिएलान् ? अनि बिम्ब, अलङ्कारका लोमहर्षक झोंक्काहरूबाट को नहल्लिएला ?

‘अबदेखि
आफ्नै हंशलाई नै
सातै महादेश र पाँचै महासागरमा
प्रेमिल स्पर्श गर्न पठाउँछु म’
‘तिमीले खान खोजेको चुम्माले पनि
सर्पदंशको पीडा दिंदैछ मलाई’
‘पियाउँदैछु तिमीलाई
झोलमासुको धित मर्ने गरी
ट्युबेल थिच्दै
एकाबिहानै तानेर जमिनमुनिको बाफिलो पानी’
‘हो,
तिमी एउटी सुधी नारी थियौ
मेरो डुङ्गामा चढ्न नमानेकी यात्रु
र, म उत्ताउलो पुरुष थिएँ
–उल्टो गतिमा डुंगा खियाइरहेको माझी’
‘उसको घर जलिरहेछ
तर ऊ निभाउन चाहँदैन त्यो आगो
किनभने, त्यो उसैले लगाएको हो।
ऊ सफा गर्न चाहदैन मझेरीको फोहोर
किनभने,
त्यो उसैले सजाएको हो।
ऊ नदीहरूमा पानी खोज्दैन
किनभने
उसैले त्यहाँ ढल मिसाएको हो।’

कविताभित्र यस्ता पङ्ति भेटेपछि को नहल्लिएला ? हो, यो किताब पढ्दा म पटकपटक हल्लिएँ। शिल्पले हल्लायो। सन्देशले हल्लायो । र, यहाँ उठाइएका प्रश्नहरूबाट रन्थनिएँ। सबै कविता शक्तिशाली छन्, वाचनका लागि उत्तिकै लयात्मक–गेयात्मक । सँगालोभित्र समेटिएको एउटा गीत (म त सधैं पात बनें), एउटा गजल (म नै मेरो दुष्ट भएँ) पनि उत्तिकै प्रभावशाली छन् । ‘समयको साक्षी’ पर्याकविता मात्रै होइन, जातीयविभेदविरुद्धको एउटा हुँङ्कार पनि हो । कविले ‘लिगलिगकोटको नयाँ दौड’, विद्रोही हावाको चस्का’ जस्ता राजनीतिक कवितालाई पनि पर्याकविताको साँचोमा ढालेर अझ शक्तिशाली बनाउनुभएको छ । पर्यासाहित्यमा चासो राख्नेहरूका लागि लोभलाग्दो मार्गदर्शन लाग्छ यो किताब ।

यही किताबमाथि हिजो हामीले कवि स्वयम् र थुप्रै आदरणीय व्यक्तित्वहरूलाई साक्षी राखेर बहस गर्यौं । आतिथेय डा.ऋषि बस्ताकोटी /कल्पना घिमिरेलाई धन्यवाद । नर्थ क्यारोलाइनामा मनाइने नेपाल डे (अप्रिल १९) मा नेपाली सिर्जनाहरूको छुट्टै स्टल राख्ने तयारी रहेछ । त्यसको अगुवाई गर्दै हुनुहुन्छ वरिष्ठ आख्यानकार नगेन्द्र न्यौपानेले । नेपाली सिर्जनाहरूमाथि यति मीठो सुम्सुम्याइ ! अब कस्ले भन्छ हामी नेपालदेखि टाढा छौं ?

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू