डोनाल्ड ट्रम्प र इलन मस्कविरुद्ध अमेरिकाभर विरोध प्रदर्शन

अमेरिका – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र डज इलन मस्कविरुद्ध अमेरिकाभर विरोध प्रदर्शन गरिएको छ । ट्रम्प प्रशासनले गरेको पछिल्ला आदेशहरु र ‘डज’ भनिने सरकारी दक्षता विभागको नेतृत्व गर्दै आएका मस्कले व्यक्तिगत डेटामा निगरानी बढाउने, सरकारी निकायमाथि गरिरहेको हस्तक्षेपविरुद्ध शनिबार अमेरिकाका ५० वटै राज्यमा ‘ह्याण्डस् अफ’ नामक अन्तर्राष्ट्रिय विरोध दिवसको अवसरमा लाखौं अमेरिकीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा उत्रिएकामध्ये ६ लाखले औपचारिक सहभागीको रुपमा हस्ताक्षरसमेत गरेका छन् । नागरिक अधिकार संगठनहरु, श्रमिक युनियनहरु, अधिवक्ताहरु, भूतपूर्व सैनिकहरु र निर्वाचन कार्यकर्ताहरुसहित एक सय ५० भन्दा बढी समूहहरुले प्रदर्शनको आयोजना गरेको सिएनएनले उल्लेख गरेको छ ।

५० वटै राज्यहरुको एक हजार २ सयभन्दा बढी स्थानमा प्रदर्शन गरिएको थियो । लाखौं प्रदर्शनकारीले राष्ट्रपति ट्रम्प र अर्बपति मस्कले सरकारी कटौती, अर्थतन्त्र, आप्रवासन र मानव अधिकारमाथि गरेको कदमको आलोचना गरेका थिए ।

प्रदर्शनकारीहरुले हजारौं संघीय कर्मचारीहरुलाई बर्खास्त गर्ने, सामाजिक सुरक्षा प्रशासनका क्षेत्रीय कार्यालयहरु बन्द गर्ने, सम्पूर्ण एजेन्सीहरुलाई प्रभावकारी रुपमा बन्द गर्ने, आप्रवासीहरुलाई देश निकाला गर्ने, तेस्रो लिंगीहरुको लागि सुरक्षा कटौती गर्ने र स्वास्थ्य कार्यक्रमहरुको लागि अनुदान कटौती गर्ने ट्रम्प प्रशासनको कदमप्रति आक्रोश व्यक्त गरेका छन् ।

दुई अर्बपतिले राज्यको शक्ति कब्जा गरेको भन्दै त्यसको अन्त्यका लागि ‘ह्याण्डस् अफ’ नारासहित ५० वटै राज्यका राजधानी, संघीय भवनहरु, कंग्रेसका कार्यालयहरु, सामाजिक सुरक्षाको मुख्यालय, पार्कहरु र सहरका मुख्य स्थानहरुमा विरोध प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीहरुले ट्रम्प र मस्कको कार्यशैलीको विरोध गर्दै तीनवटा मुख्य मागसहित विरोध प्रदर्शन गरेको सिएनएनले जनाएको छ ।

Forbes

अर्बपतिहरुको अधिग्रहण र ट्रम्प प्रशासनको व्यापक भ्रष्टाचारको अन्त्य, सरकारबाट उपलब्ध गराइने पूर्ण स्वास्थ्य बिमाको कार्यान्वयन, सामाजिक सुरक्षाको सर्वपक्ष ग्यारेन्टीको माग राख्दै प्रदर्शनकारीहरु सडकमा उत्रिएका हुन् । राजधानी वासिङ्टन डिसीको नेसनल मलमा प्रदर्शनकारीहरुले ‘हे हो, ट्रम्पस् गोट गो’ जस्ता नारा लगाएका थिए । उनीहरुले ‘प्रोटेक्ट योर कन्स्टिच्युसन’ र ‘ह्यान्ड अफ योर राइट्स’ लेखिएको साइनबोर्डहरु बोकेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु