चितवन – चितवनमा महिलाहरुको मोटर र्याली हुने भएको छ । बागमती प्रदेश अटोमोवाइल्स एसोसिएसनको आयोजनामा यही चैत २५ गते महिलाहरुको मोटर र्याली हुने भएको हो ।
चितवनका पर्यटकीय क्षेत्रलाई जोड्दै ‘ड्राइभ टुरिजम, महिला सशक्तिकरण तथा साहसिक खेलकुद’ प्रवर्द्धन गर्ने उद्देश्यले भरतपुर–मेघौली–गोलाघाट–जगतपुर–पटिहानी–सौराहासम्म मोटर र्याली कार्यक्रम आयोजना गरिएको बागमती प्रदेश अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष राजन पियाले बताए ।
बिगतका बर्षहरुमा पुरुषहरुको मात्रै र्याली गर्दै आएकोमा यस बर्ष भने महिलाहरुलाई हौसला र प्रोत्साहन गर्ने उदेश्यसहित सो कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो ।
मोटर र्यालीमा नेपालभरका इच्छुक महिला चालकहरूले भाग लिन सक्नेछन् । प्रतियोगिताका सहभागीले तोकिएको समय सिमा पालना गर्दै, तोकिएका चेकपोइन्ट पार गर्नुपर्ने छ। प्रतियोगिताको प्रारम्भ उद्योग वाणिज्य संघ चितवन, नारायणगढबाट गरिने छ । भने समापन सौराहामा हुनेछ।
प्रतियोगितामा ३० वटा गाडीमा नेभिगेटर सहित ६० जना महिला चालक सहभागी हुने छन्। सहभागी हुन इच्छुक महिला चालकहरूले अनलाइन फारम भरी नाम दर्ता गर्न सक्ने छन् भने त्यसका लागि नासा नेपालबाट जारी स्पोर्ट्स लाइसेन्स लिनुपर्ने छ।
प्रतियोगिताका विजेताहरूलाई शिल्ड, प्रमाणपत्र प्रदान गरिने छ। साथै, उत्कृष्ट प्रदर्शन गर्ने २ जना महिला चालकलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गरिने छ। प्रतियोगितामा ड्राइभर, नेभिगेटर, मार्शल, मेकानिक, मेडिकल टोली र अन्य गरी १०० जनाको सहभागिता रहनेछ।
यस प्रतियोगिताको लागि प्रत्येक सहभागीले १ हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्ने जनाइएको छ। चितवन बाहिरबाट आउने सहभागीहरूका लागि एक रातको आवास व्यवस्था गरिने छ भने सहभागीहरूलाई खेलकुद बीमा, रेसिङ तथा रोड सेफ्टी सम्बन्धी ओरियन्टेसन समेत प्रदान गरिनेछ।
प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले गर्ने छिन् । करिब ११ लाख ६० हजार रुपैयाँ बजेट अनुमान गरिएको यस कार्यक्रमको व्यवस्थापन स्थानीय उद्यमी, व्यवसायी तथा दर्ता शुल्कबाट गरिनेछ।
भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन अटोमोबाइल्स डिलर एसोसिएसन, बागमती खेलकुद विकास परिषद, राष्ट्रिय खेलकुद परिषद र रेवान सौराहा यस प्रतियोगितामा सहयोगी संस्था रहेका छन्।
यस प्रतियोगितामा सहभागी हुन हालसम्म १७ जनाले नाम दर्ता गरिसकेका छन् ।


