चितवन एक्स्पो सेन्टरमा नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु

एटुजेड समाचार

चितवन – भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा बिहीबारदेखि नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु भएको छ । चितवन उद्योग संघले आयोजना गरेको प्रदर्शनी सोमबारसम्म चल्ने छ ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले प्रदर्शनीको उद्‍घाटन गरेकी हुन् । विदेशका १० सहित प्रदर्शनीमा २ सय स्टल रहेको आयोजक चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेले बताए । ‘देश विदेश जताततै औद्योगिक वातावरण अहिले अलि प्रतिकूलजस्तो छ । आर्थिक क्षेत्र शिथिल छ । यस्तो समयमा प्रदर्शनी राखेर हामीले औद्योगिक क्रियाकलापलाई बढाउन खोजेका हौं,’ उद्‍घाटन कार्यक्रममा घिमिरेले भने ।

औद्योगिक मेसिनरी तथा प्रविधि, निर्माण उद्योग, कृषि, निर्यातयोग्य वस्तु उत्पादन गर्ने उद्योग, गार्मेन्ट, साना र मझौला उद्योगका स्टल रहेको प्रदर्शनीमा स्वदेशी र विदेशी उद्योगीबीच भेटघाट हुने, बजार विस्तार, उपकरण र प्रविधिबारेमा जानकारी आदानप्रदान हुने घिमिरेको भनाइ छ ।

‘उपभोक्ताको आकर्षण बढाउन ब्रान्डिङ, लेबलिङ र प्याकेजिङ प्रक्रियाका सम्बन्धमा ज्ञान बढाउन, उपयोगी प्रविधि र उपकरण खोज्न प्रदर्शनी सहयोगी हुँदै आएको छ,’ कार्यवाहक अध्यक्ष घिमिरेले भने । स्वदेशी र विदेशी गरी करिब ५० हजार जनाले प्रदर्शनीको अवलोकन गर्ने अनुमान रहेको उनले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू