पर्सा – नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । बिरगंज महानगरपालिका वडा नम्बर ३१ इस्लामपुर घर भई वडा नम्बर १३ मुर्लीमा बस्दै आएका शेख महमद अनवरलाई पर्सा प्रहरीले पक्राऊ गरेको हो ।
पीडित किशोरीले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । प्रहरी उपरीक्षक मिश्रका अनुसार आरोपीले किशोरीलाई विभिन्न नशालु पदार्थ मिसाइएको पानी खुवाएर मानसिक रुपमा कमजोर बनाएर पटक–पटक बलात्कार गरेका थिए । आरोपितको छोरी र पीडित एकै कक्षामा पढ्दै आएकोले चिनजान भई आरोपितको घरमा गएका बेला आरोपितले पानीमा नशालु पदार्थ खुवाई पटक पटक बलत्कार गरेका थिए ।
उनका अनुसार आरोपितले पीडित किशोरीलाई अन्य व्यक्ति तथा परिवारजनमा बताए ज्यानले मार्ने जस्ता धाकधम्की दिँदै पीडितलाई डराउँदै आएका थिए । पछि गर्भ भएसंगै परिवारजनले थाह पाई उजुरी लिएर आएपछि थाहा पाएको उनले बताए ।
पीडित किशोरीको मेडिकल परीक्षणबाट १० हप्ताको गर्भ रहेको पुष्टि भएको छ । किशोरीले लामो समयदेखि नशालु पदार्थ खुवाई आरोपित अनवरले जबरजस्ती करणी गरेको प्रहरी समक्ष बयान दिएकी छन् । घटना बाहिरिएपछि प्रहरीले तत्काल अनुसन्धान सुरु गरी अनवरलाइ पक्राउ गरेको हो ।
प्रहरीले पीडित किशोरीलाई तत्काल संरक्षणमा राख्दै उनको स्वास्थ्य परीक्षणपछि आवश्यक कानूनी तथा मानसिक परामर्श प्रदान गरिरहेको पर्सा प्रहरीले जनाएको छ । पर्सा प्रहरीले आरोपी विरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरी सम्मानित पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी उपरीक्षक मिश्रले बताए ।


