हेटौँडा – राष्ट्रिय मानवअधिकार आयोग र फ्रिडम फोरमको आयोजनामा आइतबार हेटौँडामा ‘अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षासम्बन्धी प्रादेशिक संयन्त्र : अभिमुखीकरण’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बागमती र मधेश प्रदेशका विभिन्न जिल्लाबाट पत्रकार, मानवअधिकारकर्मी, कानुन व्यवसायी र सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।
राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फ्रिडम फोरमका प्रमुख तारानाथ दाहालले अभिव्यक्ति स्वतन्त्रता र पत्रकारहरुको सुरक्षाबारे बोलेका थिए । उनले लोकतान्त्रिक राज्यमा मानवअधिकारको उच्च सम्मान हुने बताउँदै राष्ट्रिय सुरक्षा, मानवअधिकार र व्यक्तिको प्रतिष्ठा अभिव्यक्ति स्वतन्त्रताका वैध सीमा भएको जानकारी गराए ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग, बागमती प्रदेशका सचिव पवनकुमार भट्ट, राष्ट्रिय मानवअधिकार आयोगका सहसचिव यज्ञप्रसाद अधिकारी, फ्रिडम फोरमकी नानीमैया खड्कालगायतले अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षासम्बन्धी प्रस्तुति दिएका थिए । कार्यक्रममा सञ्चार रजिष्ट्रारको कार्यालय, हेटौँडाका रजिष्ट्रार रेवती सापकोटाले पत्रकार सुरक्षाबारे आफ्ना अनुभव सुनाएका थिए ।
सञ्चारकर्मीहरु कृष्ण सारु, कुमार अधिकारी, सुरेश श्रेष्ठ, वसन्त पराजुली, माधव न्यौपाने, राजन सिंह, अधिकारकर्मीहरु कुमारी वाइवा, कमल विश्वकर्मा, शर्मिला श्रेष्ठ, बागमती प्रदेशका मुख्यमन्त्री कार्यालयका उपसचिव विनोद अमात्यलगायतले अभिव्यक्ति स्वतन्त्रता सुरक्षा संयन्त्रको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।


