हजारौँको बलिदानीबाट प्राप्त उपलब्धि गुम्न दिने छैनौँ : प्रचण्ड

चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हजारौँको बलिदानीबाट प्राप्त उपलब्धि गुम्न नदिने बताएका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति चितवनद्वारा शनिबार भरतपुर–२३, कसराचोकमा आयोजित ‘जनतासँग माओवादी ः तराई–मधेश जागरण सभा’ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘यतिबेला देशमा प्रतिगामीहरुले टाउको उठाउने कोशिश गरिरहेका छन् तर उनीहरु सफल हुने छैनन्’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘हजारौँको बलिदानीबाट प्राप्त उपलब्धि गुम्न दिने छैनौँ ।’

यो संविधानमा धेरै राम्रा कुरा परेको तर पर्याप्त नभएको अध्यक्ष प्रचण्डको भनाइ थियो । ‘सबै बेथितिको अन्त्य गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ’ उनले भने, ‘संविधान संशोधन गरेर भए पनि त्यहाँ हामी पुग्नै पर्छ । अनि मात्र भ्रष्टाचारलाई रोक्ने आधार तयार हुन्छ ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले सांसद हुन करोडौँ खर्च गर्नुपर्ने निर्वाचन लोकतान्त्रिक हुन नसक्ने बताए । मन्त्री हुन मूल नेतालाई करोडौँ बुझाउने कामले भ्रष्टाचारलाई मलजल गर्ने काम गरेको उनले ठोकुवा गरे । ‘सांसद मन्त्री हुँदा भ्रष्टाचार मौलाएको छ’ उनले भने, ‘अहिलेको सरकारका मन्त्रीहरु हेर्नुहोस् त, जो सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जा मन्त्री दिएको छ ।’

‘मानिसहरुले माओवादी सिद्धियो भन्न थालेका थिए तर हामी झन् बलियो भएका छौँ’ अध्यक्ष प्रचण्डले भने, ‘अब हामी वैशाखी टेक्दैनौँ । उपनिर्वाचन र स्ववियू निर्वाचनले हामीलाई हौसला दिएको छ ।’

Forbes

जागरण सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले भरतपुरको विकासको प्रशंसा गरे । उनले भने, ‘भरतपुरको विकास हामी सबैको लागि गौरव गर्ने कुरा हो ।’

अध्यक्ष प्रचण्डले चौरासीको आमनिर्वाचनमा भ्रष्टाचारी, दलाल, विचौलिया सबै ‘क्लिनस्वीप’ हुने दाबी गरे । ‘७१ वर्षको उमेरमा म पच्चिसवर्षे जोश लिएर हिँडेको छु’ उनले भने, ‘मैले जस्तै तपाइँहरु पनि क्रियाशील हुनुभयो भने हामीले जित्नेछौँ, जित्नै पर्छ ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु