चितवन – नेपाली नाट्य संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्य लिएर तरङ्ग नाट्य समूह चितवन, कर्मी चौतारी र नारायणी कला मन्दिर नारायणगढको संयुक्त आयोजनामा चैतको दोस्रो साता प्रथम चितवन अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुँदैछ ।
नारायणी कला मन्दिर नारायणगढमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी नाट्य महोत्सवबारे जानकारी दिइएको हो । आयोजकका अनुसार नाट्य महोत्सवमा जापान, इरान, स्पेन, लिधुवानिया, भारत र नेपालका पाँच वटा नाटकहरू मञ्चन हुनेछन् । स्पेन र लिधुवानियाले संयुक्तरुपमा नाटक प्रस्तुत गर्ने छन् भने अन्य देशहरुको एकल नाट्य प्रस्तुति रहने छ ।
नाट्य कलाको पो महाउत्सवमा सहभागी देशहरूका करिब ४० जना कलाकारहरूको सहभागिता हुने महोत्सव संयोजक देवकुमार श्रेष्ठले जानकारी दिए । चैत १० गतेदेखि १२ गतेसम्म हुने यस महोत्सवले नेपाली र अन्तर्राष्ट्रिय नाट्यकर्मीहरूलाई एउटै मञ्चमा ल्याई सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्नुका साथै चितवन जिल्लालाई नाट्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको श्रेष्ठले बताए ।
चैत ६ गतेदेखि १२ गतेसम्म मण्डला थिएटर नेपालको आयोजनामा काठमाडौंमा हुने तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको अवसर पारेर चितवन जिल्लामा पनि नाट्य कलाको उत्थान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महोत्सव निर्देशक अञ्जान प्रदीपले बताए । उनले भने, ‘यस महोत्सवले चितवन जिल्लाको कला, संस्कृति, र पर्यटनलाई प्रवद्र्धन गर्दै स्थानीय तथा अन्तर्राष्ट्रिय रंगकर्मीहरूलाई अनुभव र ज्ञान आदान–प्रदान गर्ने अवसर प्रदान गर्नेछ ।’
प्रथम चितवन अन्तर्राष्ट्रिय नाट्य महोत्सवको सहआयोजकका रूपमा अङ्कुरम् एकेडेमी, गैँडाकोट इंग्लिस स्कुल, न्यू क्यापिटल कलेज, डबली द स्पेस, ओम शान्ति एकेडेमी र चितौन कचेहेरी छन् । प्रवद्र्धकको रूपमा भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघ चितवन छन् । महोत्सव संरक्षकको रुपमा नारायणी कला मन्दिर नारायणगढका अध्यक्ष रोहितकुमार श्रेष्ठ रहेका छन् ।
नारायणी कला मन्दिरका सदस्य निरञ्जन प्रधानले नाटक प्रदर्शनी हरेक दिन दिउँसो ३ बजे र ५ बजे हुने जानकारी दिए । नाटक अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।


