ट्रम्पले पुटिनसँग युक्रेन युद्ध अन्त्यबारे छलफल गर्ने

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मंगलबार कुराकानी गर्ने योजना बनाएका छन्। अमेरिकी अधिकारीहरूले साउदी अरबमा भएको वार्तापछि वासिङ्टनले तीन वर्षदेखि चलिरहेको युद्ध रोक्न प्रस्ताव गरेको केही साताभित्रै युक्रेन र रुसबीच युद्धविराम सम्झौता हुन सक्ने आशा व्यक्त गरेका छन्।

‘हामी युक्रेनी भूमि र विद्युत् संयन्त्रबारे कुरा गर्नेछौं,’ ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूसँग भने, ‘युक्रेन र रुस दुवै पक्षबीच यो विषयमा धेरै छलफल भइसकेको छ। हामी पहिलोपटक यो मुद्दा उठाउँदैछौं र केही क्षेत्रको स्वामित्वबारे टुंगो लगाउने विषयमा पनि कुरा गर्नेछौं।’ वासिङ्टन र किभका युरोपेली साझेदारहरूले मस्कोलाई युद्ध रोक्न दबाब दिइरहेका छन्। तर, पुटिनले यो विषयमा स्पष्ट जवाफ दिएका छैनन्। बरु, उनले अमेरिकी प्रस्तावमा ‘गम्भीर प्रश्न’ उठाउँदै शर्तहरूको सूची प्रस्तुत गरेका छन्।

केही दिनअघि पुटिनसँग घण्टौं छलफल गरेका ट्रम्पका दूत स्टिभ विटकोफले सीएनएनसँग भने, ‘यो साता दुई राष्ट्रपतिबीच सकारात्मक कुराकानी हुने अपेक्षा छ। ट्रम्पले आगामी हप्तामा कुनै न कुनै सम्झौता हुने ठान्छन्, र यो जरुरी पनि छ।’ युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्रेमलिनले युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाएका छन्। उनका अनुसार, मस्कोले युद्धविरामअघि ‘युद्धभूमिमा आफ्नो स्थिति बलियो बनाउन’ खोजिरहेको छ।

रुबियो र लाभरोभबीच वार्ता

यसअघि, मस्कोले अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभबीच गत महिना साउदी अरबमा भएको अमेरिका–रुस शिखर सम्मेलनका ‘समझदारी कार्यान्वयन’ बारे फोनमा कुराकानी भएको जनाएको थियो। सन् २०२२ को फेब्रुअरीमा रुसले आक्रमण सुरु गरेयता रियाद सम्मेलन पहिलो उच्चस्तरीय भेट थियो। बैठकपछि रुसी विदेश मन्त्रालयले लाभरोभ र रुबियोबीच सम्पर्कमा रहने सहमति भएको बताएको छ।

Forbes

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी ब्रुसले शनिबार दुवै पक्षले युक्रेनबारे ‘आगामी कदम’ मा छलफल गरेको र सञ्चार पुनर्स्थापना गर्न सहमत भएको जानकारी दिए। बेलायतले युक्रेनबारे आयोजना गरेको भर्चुअल सम्मेलनको केही घण्टापछि लाभरोभ र रुबियोबीच कुराकानी भएको थियो। सम्मेलनमा बेलायती प्रधानमन्त्री केइर स्टार्मरले पुटिनले युद्धविराम चाहेको संकेत नदिएको र विभिन्न बहानामा समय बर्बाद गरिरहेको बताए। ‘रुसले वार्ताको कुरा त गर्छ, तर उसको पहल पर्याप्त छैन। युक्रेनमाथिको रुसी आक्रमण सधैंका लागि रोकिनुपर्छ,’ उनले भने।

रुसको ड्रोन आक्रमण

आइतबार किएभले रुसले युक्रेनका नौ क्षेत्रमा इरानमा निर्मित ९० शाहेद ड्रोन प्रहार गरेको जनाएको छ। यसै साताको सुरुमा पुटिनले युद्धविराम प्रस्तावले मुख्य रूपमा युक्रेनलाई फाइदा पुग्ने भन्दै त्यसमाथि ‘गम्भीर प्रश्न’ उठाएका थिए। रुसले युक्रेनको दक्षिण र पूर्वी क्षेत्र कब्जा गरेको र युद्धमोर्चामा प्रगति गरिरहेका बेला यो प्रस्ताव आएको उनको भनाइ छ। रुसले आफ्नो कुर्स्क क्षेत्रबाट युक्रेनी सेनालाई पछाडि धकेलेको छ। यो क्षेत्र युक्रेनले भविष्यको वार्तामा ‘बार्गेनिङ’ शक्तिका रूपमा प्रयोग गर्न सक्ने ठानिएको छ। पुटिनले मस्कोसँग सम्बन्धित चासोका विषयमा ट्रम्पसँग फोनमा छलफल गर्न चाहेको आइतबार बताएका थिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु