चितवनमा यस वर्ष तोरीको क्षेत्रफलसँगै उत्पादन पनि बढ्यो

चितवन – चितवनमा यस वर्ष तोरीको उत्पादन बढेको छ । कृषि विकास कार्यालय चितवनका अनुसार गत वर्षको तुलनामा यस वर्ष तोरीखेती गरिने क्षेत्रफलसँगै उत्पादन पनि बढेको हो ।

चितवनमा चालु आर्थिक वर्ष २०८१/८२ मा १४ हजार १ सय ७४ हेक्टरमा गरिएको तोरीखेतीबाट १८ हजार ५ सय ६७ दशमलव ९४ मेट्रिक टन तोरी उत्पादन भएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा १३ हजार ६ सय ४२ हेक्टरमा गरिएको तोरीखेतीबाट १७ हजार ५ सय ९८ दशमलव १८ मेट्रिक टन तोरी उत्पादन भएको थियो ।

चालु आर्थिक वर्षमा तोरीको उत्पादकत्व प्रतिहेक्टर १ दशमलव ३१ प्रतिशत रहेको छ भने गत आर्थिक वर्षमा प्रतिहेक्टर १ दशमलव २९ प्रतिशत रहेको थियो ।

कृषि विकास कार्यालय चितवनको तथ्याङ्क हेर्दा गत वर्षको तुलनामा यस आर्थिक वर्षमा तोरी बालीको क्षेत्रफल, उत्पादन र उत्पादकत्व बढेको देखिन्छ ।

Forbes

गत वर्षभन्दा यस वर्ष कृषकले तरकारीको सट्टा खाली रहेको जग्गामा पनि तोरी लगाएको हुनाले तोरीखेतीको क्षेत्र बिस्तारसँगै उत्पादन पनि बढेको कृषि विकास कार्यालय चितवनका योजना अधिकृत निर्मल पौडेलले बताए । पछिल्लो वर्षहरुमा तोरीको तेलको माग बढ्दै गएको र तुलनात्मक रुपमा यस बालीमा खर्च कम र आम्दानी बढी हुने भएकाले किसानहरुको तोरीखेतीमा आकर्षण बढेको उनको भनाइ छ ।

उनका अनुसार छोटो अवधिमा उत्पादन लिन सकिने नगदेबाली भएको र निकुञ्ज नजिक रहेका ठाउँहरुमा जङ्गली जनावरले अन्य बालीमा भन्दा तोरीमा कम असर गर्ने भएकाले पनि तोरीखेतीप्रति किसानहरु आकर्षित भएका हुन् ।

तोरीखेती प्रवर्धन गर्नका लागि स्थानीय, प्रदेश र संघीय सरकारले विभिन्न कार्यक्रम ल्याएको हुनाले पनि कृषकहरुलाई प्रोत्साहन मिलेको उनको भनाइ छ ।

दुई दशक अघिसम्म तोरीको जिल्लाको रुपमा प्रख्यात चितवनमा बिचमा केही समय तोरी उत्पादन घटेको थियो । उत्पादनले भाउ पाउन थालेपछि पछिल्ला वर्षहरुमा किसानहरु बिस्तारै तोरीखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

चितवनमा कात्तिकदेखि नै तोरीखेती गरिन्छ । फागुनसम्ममा थन्क्याइन्छ । अधिकांश किसानहरुले बर्खे धान थन्क्याएपछि तोरी लगाउने गर्छन् । चितवनका सात पालिकामध्ये इच्छाकामना गाउँपालिकाबाहेक अन्य ६ पालिकामा तोरीखेती गरिन्छ ।

पूर्वी चितवनमा खैरहनी, कालिका र रत्ननगर नगरपालिका, पश्चिमी चितवनमा शिवनगर, पार्वतीपुर, शुक्रनगर, मेघौलीलगायत क्षेत्र र माडी नगरपालिकाका विभिन्न क्षेत्रमा तोरीखेती लगाउने किसानहरुको संख्या बढेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु