एकै दिन भरतपुरका दुई वटा विद्यालयका ३ सय ५६ जना विद्यार्थीहरुको स्वास्थ्य परीक्षण

चितवन – सामुदायिक विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्ने भरतपुर महानगरपालिकाको अभियान अन्तर्गत आइतबार भरतपुरका दुई वटा विद्यालयका चार सयभन्दा बढी विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । भरतपुर–११ को जखडीमाई आधारभूत विद्यालयका ८० जना र भरतपुर–१२ को मोहन माध्यमिक विद्यालयका ३ सय ५६ जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको हो ।

विद्यार्थीहरुको स्वास्थ्य परीक्षण तथा स्क्रिनिङको लागि भरतपुर महानगरका स्वास्थ्यविज्ञ एवं पुष्पाञ्जलि अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीको नेतृत्वमा महानगरको स्वास्थ्य शाखाका कर्मचारी एवं अन्य स्वास्थ्यकर्मीसहितको टोली ती दुई वटा विद्यालयमा पुगेको थियो ।

विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिसकेपछि डा. भोजराज अधिकारीले दुवै विद्यालयका छात्रछात्राहरुमा कुपोषण र छालाको समस्या नपाइएको एवं आँखाको दृष्टि राम्रो रहेको पाइएको जानकारी दिए । उनले स्वास्थ्यका आधारभूत सूचकहरु खोज्न सयभन्दा बढी विद्यालयका ४२ हजार विद्यार्थीमाझ पुग्न लागेको बताए ।

भरतपुर महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले विद्यार्थीहरुमा नाक, कान, आँखा, घाँटी र छालाका समस्या छन् कि छैनन् भनी पत्ता लगाउन कार्यक्रम आयोजना गरिएको बताए । महानगरका जनस्वास्थ्य निरीक्षक शिव पौडेलले चैतको ४ गतेसम्ममा सबै विद्यालयमा पुगेर कार्यक्रम सम्पन्न गरिने जानकारी दिए ।

भरतपुर–१२ का वडाध्यक्ष लेखराज पन्त हरिले विद्यार्थीहरुमा छालाको समस्या नदेखिनु खुसीको कुरा भएको बताए । मोहन माध्यमिक विद्यालयका प्रधानाध्यापक पशुपति घिमिरेले विद्यार्थीहरुमा कुपोषण नभेटिनु सुखद् पक्ष भएको बताए । जखडीमाई आधारभूत विद्यालयका प्रधानअध्यापक एजी परियारले विद्यार्थीहरुको स्वास्थ्य परीक्षण अति आवश्यक रहेको विचार व्यक्त गरे ।

Forbes

स्वास्थ्य जाँच तथा स्क्रिनिङ कार्यक्रम अन्तर्गत विद्यार्थीहरुको उचाइ र तौल लिनुको साथै दृष्टि एवं श्रवण शक्ति परीक्षण गरिएको थियो । फागुन २० गते भरतपुर–१० मा रहेको नारायणी नमुना माध्यमिक विद्यालयबाट विद्यार्थीहरुको स्वास्थ्य परीक्षण कार्यक्रम सुरु भएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहालले एक समारोहबिच कार्यक्रमको शुभारम्भ गरेकी हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु