एक वडा एक स्वास्थ्य कार्यालय बनाएरै छाड्छौँ : मेयर दाहाल

चितवन – भरतपुर महानगरकी मेयर रेनु दाहालले एक वडा एक स्वास्थ्य कार्यालयको नारालाई सार्थक बनाएरै छाड्ने बताएकी छन् । भरतपुर महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

नारायणी नमुना माध्यमिक विद्यालय भरतपुरमा मंगलबार बिहान आयोजित समारोहमा बोल्दै मेयर दाहालले भनिन्, ‘भरतपुर महानगरपालिकाले एक वडा एक स्वास्थ्य कार्यालयको नारालाई अगाडि बढाएको छ । जनताको घरआँगनमा प्राथमिक स्वास्थ्य उपचार पु¥याउने लक्ष्य लिएका छौँ । त्यसलाई पूरा गर्नेछौँ ।’

मेयर दाहालले भरतपुरलाई मेडिकल सिटी भनेर मात्र नपुग्ने भन्दै यहाँका नागरिकको स्वास्थ्यमा सुधार ल्याउनका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताइन् । गत वर्ष ६८ वर्षमाथिका नागरिकलाई घरघरमा स्वास्थ्य परीक्षणको अभियान गरिएको बताउँदै उनले यस वर्ष ६० वर्षमाथिका नागरिकलाई त्यस्तै कार्यक्रम ल्याउने जानकारी दिइन् ।

विद्यार्थीहरुको स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ कार्यक्रम ल्याउनुको कारण बताउँदै मेयर दाहालले भनिन्, ‘हामी एक पटक भरतपुर महानगरभित्रकै एउटा सामुदायिक विद्यालयमा अनुगमनमा गएका थियौँ । अनुगमनकै क्रममा त्यहाँको एउटा कक्षामा पसेर विद्यार्थीहरुको अवस्था बुझ्दा पछाडिको बेन्चमा बसेका एक जना विद्यार्थीले अगाडि बोर्डमा लेखिएको अक्षर नदेखेको पत्ता लाग्यो । ती विद्यार्थी आफैँलाई पनि उहाँले आँखा राम्रोसँग देख्न नसकेको कुरा थाहा रहेनछ । त्यसपछि हामीले यस्ता विद्यार्थी अरु पनि हुन सक्ने अनुमान गरी स्वास्थ्य परीक्षण तथा स्क्रिनिङको कार्यक्रम ल्याएका हौँ ।’

यस कार्यक्रम अन्तर्गत ५ सय ९७ जना स्वास्थ्यकर्मी र ३५ जना विद्यालय नर्स २ सय ९ वटा टिम बनाएर खटिँदै छन् । विद्यार्थीहरुको स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ कार्यक्रममा दिइने सेवामा आँखाको दृष्टि परीक्षण, दाँत तथा मुख स्वास्थ्य परीक्षण, नाक कान घाँटीअन्तर्गत श्रवण शक्ति (सुन्ने क्षमता) परीक्षण मुख्य रहेको भरतपुर महानगर जनस्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले जानकारी दिए ।

Forbes

शुभारम्भ समारोहमा भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल, स्वास्थ्यविज्ञ डा. भोजराज अधिकारी, भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा. किरण देवकोटा, नारायणी नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापा, जनस्वास्थ्य कार्यालय प्रमुख दिनेश रुपाखेती, जनस्वास्थ्य अधिकृत केशवप्रसाद भट्ट, जनस्वास्थ्य निरीक्षक शिव पौडेललगायतको उपस्थिति रहेको थियो ।

यसैबिच, भरतपुर महानगर प्रमुख रेनु दाहालले नारायणी नमुना माध्यमिक विद्यालय भरतपुरबाट यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थीहरुलाई शुभकामना दिएकी छन् ।

सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ कार्यक्रम शुभारम्भ समारोह सकिएपछि विद्यार्थीहरु पढिरहेको कक्षाकोठामा पुगेर मेयर दाहालले शुभकामना दिएकी हुन् ।

एसइई राम्रो गर्न शुभकामना दिँदै मेयर दाहालले भनिन्, ‘एसइईको तयारीमा तपाईंहरु जुटिरहनु भएको छ । यहाँहरुको एसइई एकदमै उत्कृष्ट होस् । तपाईंहरुलाई शुभकामना छ ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु