चितवन – पुष्पाञ्जलि अस्पताल भरतपुरका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले हरेक व्यक्तिले आफ्नो जन्मदिनको सुरुवात बिहानै स्वास्थ्य परीक्षणबाट गर्न आग्रह गरेका छन् । सोमबार आफ्नो जन्मदिनको अवसरमा आफैँले स्वास्थ्य परीक्षण गराउँदै उनले यस्तो आग्रह गरेका हुन् ।
‘हरेक व्यक्तिले आफ्नो जन्मदिनको सुरुवात बिहानै स्वास्थ्य परीक्षणबाट ग¥यौँ भने लुकेर बसेका, थाहा नभएका, शरीरमा रहेर पनि देखा पर्ने अवस्थामा नपुगेका कतिपय रोगहरु थाहा पाउन सकिन्छ’ पुष्पाञ्जलि अस्पताल परिसरमा स्वास्थ्य परीक्षण गराइरहेकै अवस्थामा डा. अधिकारीले भने ।
डा. अधिकारीले रक्तचाप र रगत परीक्षण गरी स्वास्थ्य जाँच गराएका थिए । रगतमा सुगर, कोलेस्ट्रोल, युरिक एसिडसहित कलेजो र किड्नी फङ्क्सन चेक गर्न लागेको उनले बताए । ‘आँखा परीक्षण गराइसकेको छु’ उनले भने ।
डा. अधिकारीको स्वास्थ्य परीक्षण कार्यक्रममा कक्षा १०, ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु पनि उपस्थित थिए । उनीहरुतर्फ सङ्केत गर्दै डा. अधिकारीले यही उमेरबाट स्वास्थ्यबारे सचेत रहन आवश्यक रहेको बताए ।
‘हरेक व्यक्तिको जीवनमा हरेक वर्ष जन्मदिन आउँछ’ डा. अधिकारीले भने, ‘स्वास्थ्य परीक्षणका लागि जन्मदिन रोजियो भने कहिल्यै पनि बिर्सिंदैन । विद्यार्थी भाइबहिनीहरुले यो सन्देश आफ्ना अभिभावक र साथीभाइहरुलाई दिनुहोला ।’


