बारा – कलैयामा रहेको नवजन्म सुधार केन्द्रमा १५ दिन अगाडि भर्ना भएका प्रदीपप्रसाद मण्डलले सजायस्वरुप कुखुरा बन्न नमान्दा भएको सामूहिक कुटपिटबाट मृत्यु भएको अनुसन्धानमा खुलेको छ ।
कुटपिटमा संलग्न आरोपमा पक्राउ परेकाहरुसँग बारा प्रहरीले गरेको सोधपुछमा मृतक मण्डलले कुखुरा बन्न नमान्दा भएको सामूहिक कुटपिटबाट मृत्यु भएको खुलेको हो ।
’अनुशासन भंग गरेका थिए, त्यसपछि उनलाई शारीरिक सजाय दिने तय भयो । तर उनले त्यसो गर्न मानेनन्, त्यसपछि सबै रिसाउँदै कुट्न थाले, कुटाइबाट उनको मृत्यु भयो’ सोधपुछका क्रममा एक आरोपीले स्वीकारेका छन् ।
केन्द्रबाट बाहिरिएको सिसिटिभी फुटेजको सुरुवातमा एक अर्धनग्न युवकले मण्डललाई मुर्गा बन्न निर्देशन दिइरहेको देखिन्छ । तर, त्यसलाई अस्वीकार गर्दा युवकले उनीमाथि कुटपिट गर्न थाल्छन् । कुटपिट गर्दा गर्दै उनलाई कोठाको अर्को कुन्नासम्म पु¥याउँछन्, जहाँ केन्द्रमा रहेका अन्य व्यक्तिहरूले समूह बनाएर उनमाथि कुटपिट गर्न थाल्छन् । कुटपिटबाट भुईँमा लडेको अवस्थामा समेत मण्डलमाथि कुटपिट जारी रहन्छ ।
बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङले भने, ‘मुक्काले अनुहारमा कुटपिट गरिएको यथेष्ट प्रमाण नै छ, जसमा मध्यरातमा कोठाभित्र कुटपिट भएको देखिन्छ । शारीरिक यातना दिन मुर्गा बनाउन खोजिएको रहेछ, मुर्गा बन्न नमानेपछि कुटपिट गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । केन्द्रका सञ्चालकहरूले सिसिटिभी फुटेज लगायतका महत्त्वपूर्ण प्रमाण लुकाउने प्रयास गरेका थिए, तर हामीले समयमै हस्तक्षेप गरेर प्रमाणहरू जोगायौं ।’
उनका अनुसार उनीहरुले त्यो सजायलाई आफ्नो भाषामा ’कन्सिक्वेन्स’ भन्दा रहेछन् । तर उनीहरुले यसलाइ बेग्लै कोट भाषाको रुपमा प्रयोग गर्ने गरेको पाइएको प्रहरी प्रमुख एसपी तामाङ बताउँछन् ।
एसपी तामाङका अनुसार कुटपिटपछि सुधार केन्द्रका सञ्चालकहरूले मण्डललाई सुरुमा कलैया सिटी अस्पताल लगेका थिए, तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कलैया प्रादेशिक अस्पताल पु¥याइएको थियो । तर, त्यहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।
बारा प्रहरीका अनुसार मण्डललाई दुई साताअघि मात्रै परिवारले नै पुनःस्थापना केन्द्रमा भर्ना गरेका थिए । घटनामा सुधार केन्द्रका सञ्चालक सर्फराज मन्सुरीसहित नीरज सर्राफ, तमन्ना अली, सागर गुप्ता, मोहम्मद आसुमिया शेख, अरुण सर्राफ र परमेश्वर साह पक्राउ परेका छन् । पक्राउ परेकाहरूमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ भने सात दिनको म्याद थप गरिएको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।


