समाजसेवी संस्थाहरूलाई जिल्ला प्रशासन कार्यालय पर्साले सम्मान गर्ने

वीरगञ्ज – पर्सा जिल्लामा यस वर्ष परेको कठोर शीतलहरका कारण प्रभावित गरिब तथा विपन्न परिवारहरूलाई न्यानो कपडा तथा आवश्यक राहत सामग्री वितरणमा योगदान दिने विभिन्न संस्थाहरूलाई जिल्ला प्रशासन कार्यालय पर्साले सम्मान गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जारी गरिएको पत्र अनुसार, राहत तथा विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गरेका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूलाई भोली माघ २९ गते एक विशेष समारोहका बिच सम्मानित गर्न लागिएको हो ।

जिल्ल प्रशासन कार्यालय पर्साको सभा हलमा आयोजना हुने कार्यक्रममा रूंगटा वेलफेयर सोसाइटी, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ, नेपाल रेडक्रस सोसाइटी (शाखा कार्यालय, पर्सा), रोटरी क्लब अफ वीरगञ्ज, नेपाल युवा उद्यमी मञ्च (वीरगञ्ज च्याप्टर), ग्रिन सिटी सामुदायिक सेवा केन्द्र, र लायन्स क्लब वीरगञ्जलाई सम्मानित गरिने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

सामाजिक उत्तरदायित्व वहन गर्ने संस्थाहरूलाई हौसला प्रदान गर्ने उद्देश्यका साथ आयोजित सम्मान कार्यक्रममा प्रत्येक संस्थाका अध्यक्ष वा वरिष्ठ पदाधिकारीलाई उपस्थित हुन आमन्त्रण गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

शीतलहरको कठोर प्रभाव न्यूनीकरण गर्न पर्सा जिल्लामा सक्रिय रहेका विभिन्न सङ्घसंस्थाहरूले गरिब तथा विपन्न वर्गका लागि राहत सामग्री वितरण गरेर महत्त्वपूर्ण भूमिका खेलेका छन् । सम्मान कार्यक्रमले सरकार तथा स्थानीय समुदायबिचको सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु