चितवन – चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक बर्षमा ३४ वन्यजन्तुको मृत्यु भएको छ । आर्थिक बर्ष २०८१/८२ मा विभिन्न कारणले ३४ वन्यजन्तुको मृत्यु भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी अविनाश थापा मगरका अनुसार मृत्यु हुनेमा सबै भन्दा बढी गैंडा रहेका छन् । चालु आर्थिक बर्षको ६ महिनामा पोथी ६, भाले ५ र पहिचान हुन नसकेको ३ गरी १४ गैंडाको मृत्यु भएको हो । जसमध्य प्राकृतिक उमेर पुगेर सात, जुधेर एक, बिधुतिय करेन्ट लागेर एक, बाढीले बगाएर दुई र दलदलमा परेर तीन वटाको मृत्यु भएको हो ।
मृत्यु हुने अन्य जनावरमा चित्तल दस, हात्ती तीन, जरायो तीन, बाघ एक, घडीयाल गोही एक, चितुवा एक, निलगाई एक र अजिङर एक छन् ।
निकुञ्जका अनुसार गत आर्थिक बर्ष २०८० /८१ मा ७० वन्यजन्तुको मृत्यु भएको थियो । गत आर्थिक बर्ष चित्तल २४, गैंडा २१, बाघ ८, रतुवा ६, हात्ती ५, जरायो ४, घडीयाल गोही २, मगर गोही २, अजिङर २, लगुना १ र बदेल १ गरी ७० वनजन्तुको मृत्यु भएको थियो ।
निकुञ्जमा मानव मृत्यु र वन्यजन्तु मृत्युका घटना बढीरहेको सुचना अधिकारी थापा मगरले बताए । यस्ता घटना नियन्त्रणका लागि निकुञ्ज प्रशासनले विभिन्न प्रयासहरु गरिरहेको उनको भनाइ छ ।


